‘जीन इडियु हव’को ठगी धन्दा, युके पठाउने भन्दै लाखौँ असुल्दै

शनिबार, २६ माघ २०८१

काठमाडौं – काठमाडौँको बुद्धनगरमा रहेको ‘जीन इडियु हव’ नामक कम्पनीले शैक्षिक कन्सल्टेन्सीको नाममा ठगी धन्दा चलाएको पाइएको छ । संघीय सरकारको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय वा प्रदेशको सामाजिक विकास मन्त्रालयबाट व्यवसाय संचालन स्वीकृतिसमेत नलिएको जीन इडियु हवले ठगी धन्दा चलाएको हो ।

अल्फा बिटा बिल्डिङको पछाडि कान्तिपुर इन्टरनेशनल कलेजको दक्षिण गेट भएको बिल्डिङको पहिलो तलामा छ ‘जीन इडियु हव । यहाँ कम्पनी रजिस्ट्रारको कार्यालयमा समेत दर्ता नभएको जीन स्टडि हव नामक अर्को संस्था पनि चलाइरहेको छ । यसका संचालह हुन् सिन्धुपाल्चोकका आशीष खोखाली । खोखालीले एक जना अनुभवी स्टाफ र थप दुई जना भर्खरका युवतीलाई काममा लगाएर ठगी धन्दा चलाएका छन् ।

उनले कामका लागि बेलायत पठाइदिने भन्दै युवाबाट ३६ देखि ५६ लाखसम्म रकम उठाउने गरेको प्रमाण मोटिभेट न्यूजसम्म आइपुगेको छ । यसले अस्ट्रेलिया, क्यानडा, बेलायत, अमेरिकामा स्टडि भिसा नलागेका युवालाई जम्मा गरेर रकम उठाउने गरेको पाइएको छ । पीडित युवाका अनुसार यो कम्पनीले एक्लै बेलायत कामका लागि जाने हो भने ३६ लाख रुपैयाँ खर्च लाग्ने र डिपेण्डेन्टसँग जाँदा ५६ लाखमाथि लाग्ने भन्दै रकम अशुल गरिरहेको छ ।

युके पठाउने नाममा विद्यार्थीबाट सुरुमा सर्भिस चार्जका नाममा ५० हजारदेखि ५ लाखसम्म लिने गरेको पिडित युवाको भनाई छ । उनीहरुका अनुसार भिसा प्रक्रिया सुरु गरेपछि बाँकी सबै पैसा बुझाउनुपर्छ । भिसा लाग्ने टुगों नहुँदा पाँचदेखि सात महिनासम्म उनीहरुले यो रकम चलाउने गरेका छन् ।

जीन इडियु हवले पैसा उठाएर पाँचदेखि सात महिनासम्म झुलाउँदै काम नभए पैसा फिर्ता गर्ने गरेको छ । ‘भिसा नलाग्ने पक्का छ । बर्षमा एउटा दुईटा भिसा लागेपनि  बर्किङमा युकेको भिसा सम्भव छैन ।’, अर्का एक पीडितले भने, ‘उनीहरुको धन्दा नै एउटाबाट लाखौँ रकम उठाउने । पाँच सात महिना चलाउने र अन्तमा भिसा लागेन भनेर पैसा फिर्ता गर्ने गरेको छ ।’

श्रोतका अनुसार यसरी उठाएको पैसा मिटरव्याजमा लगाउने गरिएको छ । ‘क्यानडाका लागि भिसा एप्लाई गर्नेहरुलाई १ महिनाको बैंक ब्यालेन्स चाहिन्छ, अमेरिकाको भिसा एप्लाई गर्ने विद्यार्थीका लागि वानडे व्यालेन्स बनाउनका लागि उक्त रकम खर्च भएको छ ।’, श्रोतले भन्यो, ‘१ महिनाको १ लाख बराबर २ हजार र वान डेको १ लाख बराबर ५ सयका दरले मिटर ब्याजमा लगायर कारोबार गर्ने गरेका छन् ।’

वैदेशिक रोजगार विभागका अनुसार यो कम्पनीले आवश्यक अनुमति लिएको छैन । वैदेशिक रोजगार विभागबाट स्वीकृति नलिई वर्किङको काम गर्नु गैरकानुनी कार्य हो। सिइओ आशीष खोखालीले आफूहरूले कानुनी रूपमा काम गरिरहेको दाबी गर्दै आवश्यकता परेको खण्डमा दर्ता प्रक्रियामा जाने बताए ।