१३ वर्षीया बालिका बलात्कार आरोपमा २ जना पक्राउ
धनगढी – कैलालीमा १३ वर्षीया बालिकामाथि सामूहिक बलात्कार आरोपमा प्रहरीले दुई जनलाई पक्राउ गरेको छ । मोहन्याल घर भएर बर्दगोरिया गाउँपालिका–२ को झगडपुरमा डेरा गरी बस्ने १३ वर्षीया बालिकामाथि शनिबार सामूहिक बलात्कार भएको थियो ।
पक्राउ पर्नेमा बर्दगोरिया गाउँपालिका–३ बस्ने ४४ वर्षीय गोपाल विक र सोही ठाउँ बस्ने १६ वर्षीय किशोर रहेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्र सिंह बोहराले बालिकामाथि सामूहिक रुपमा जबरजस्तीकरणी भएको बताए ।
प्रहरीकाअनुसार स्थानीय विद्यालयमा कक्षा ४ मा अध्ययन गर्ने उनलाई गोपाल विकले मासु पकाएर ल्याइदिनू भन्दै दिएका थिए । मासु पकाएर विकलाई दिन उनको पसलमा पुगेका बेला पसलको कोठामा लगेर दुवै जनाले जबरजस्तीकरणी गरेको डीएसपी बोहराले बताए ।
घटनाबारे पीडितकी दिदीले आइतबार साँझ मात्र प्रहरीलाई खबर गरेकी थिइन् । खबर गर्ने बितिकै इलाका प्रहरी कार्यालय बौनियाको टोलीले दुवै जनालाई पक्राउ गरेको हो । उनीहरुलाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यसअघि शुक्रबार मात्र धनगढीमा विद्यालयबाट घर फर्किने क्रममा १४ वर्षीया किशोरीलाई एक युवकले जबरजस्तीकरणी गरेको उजुरी प्रहरीमा परेको थियो । ती युवक अहिले फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।