नेपाल लाइफको २५औँ वार्षिक साधारण सभा सम्पन्न, २१.०५ प्रतिशत लाभांश पारित

सोमबार, २८ माघ २०८१

काठमाडौँ – नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सको २५औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सोमबार कम्पनीका सञ्चालक समितिका अध्यक्ष गोविन्द लाल संघईको अध्यक्षतामा वीरगंजको होटल भिष्वामा सम्पन्न भएका हो ।

सभाले अध्यक्षले प्रस्तुत गरेको आ.व.२०८०/८१ को वार्षिक कार्य प्रगति प्रतिवेदन छलफल गरि पारित गरिएको छ । लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व.२०८०/८१ को वासलात, नाफा–नोक्सान हिसाव र सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु उपर छलफल गरी स्वीकृत गरिएको छ । यस सभाले आ.व. २०८१/८२ को लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गरेको छ ।

साधारण सभाले आ.व. २०८०/८१ को वितरण योग्य मुनाफाबाट संचालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम चुक्ता पूँजी रु. ८,२०,७९,६६,५५४/– को जम्मा २१.०५% ले हुन आउने रकम रु. १,७२,७९,९२,९५९/– (अक्षेरुपी एक अर्ब बहत्तर करोड उनासी लाख बयानब्बे हजार नौ सय उनन्साठी मात्र) लाभांशको रुपमा प्रदान गर्ने जसमा १०% बोनस शेयर र ११.०५% नगद लाभांश (बोनस शेयर तथा नगद लाभांशको कर सहित) प्रदान गर्ने प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको छ ।

सभामा बोल्दै अध्यक्ष संघईले जीवन बीमा क्षेत्रमा कम्पनीको व्यवसायिक हिस्सा र गरिमालाई तमाम चुनौतिहरु बीच अझै नयाँ उचाइमा अगाडि बढाउनका लागि संरचनात्मक सुधार, संस्थागत सुशासनको पूर्ण पालना, सुदृढ आन्तरिक नियन्त्रण प्रणाली, सेवा प्रणालीमा नविन प्रविधिको प्रयोग, सम्पत्ति र दायित्व बीचको सन्तुलन, ग्राहक केन्द्रित योजना, विकेन्द्रिकरण, तालिम एवं अनुसन्धान तथा नयाँ बजारीकरण रणनीति अवलम्बन गरि अर्को सुनौलो यात्रा तर्फ अगाडि बढ्ने प्रतिवद्धता जनाए ।

२५औँ वार्षिक साधारण सभामा बोल्दै प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले आ.व.२०८०/८१ मा आएका चुनौतीहरुलाई अवसरहरुमा परिणत गरी हासिल गरिएका व्यावसायिक उपलब्धी र भावी योजनाहरु बारे जानकारी दिएका थिए ।

२०८१ असोज मसान्त सम्ममा यस कम्पनीको लगानी रु. २१५ अर्ब रुपैयाँ रहेको छ भने जीवन बीमाकोष २०८ अर्ब रुपैयाँ र शेयरधनी कोष रु. १२ अर्ब बढी रहेको छ । कम्पनीले आफ्ना सेवाग्राहीहरु तथा ग्राहकहरूका लागि देशभर फैलिएका आफ्ना हाल १ सय ९५ कार्यालय सञ्जालहरू मार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ । यसका साथसाथै कम्पनीले हालसम्म रु.२८८ अर्ब रुपैया बीमाशुल्क आर्जन गरेको छ भने रु. ८४ अर्ब जम्मा दावी भुक्तानी गरेको छ । ग्राहकहरूको हितलाई ध्यानमा राखी यस कम्पनीले समयसापेक्ष आवश्यक थप सेवा तथा सुविधाहरुसमेत उपलब्ध गराउँदै जाने प्रतिबद्धता व्यक्त गरेको छ ।