मालपोतका कर्मचारीले झ्याम पारेप ५९० रोपनी सरकारी जग्गा, के गर्छ ओली सरकार ?

बिहिबार, २ जेष्ठ २०७६

जुम्ला – जिल्ला मालपोत कार्यालय जुम्लाका शाखा अधिकृतले ५९० रोपनी सरकारी जग्गा आफन्तको नाममा पारेको पाइएको छ । जुम्लाकै गुठिचौर गाउँपालिका ४ बाउलीगाउँ घरभएका गोविन्दप्रसाद न्यौपानेले सरकारी जग्गा श्रीमती, छोरी र नातागोताको नाममा पास गराएको पाइएको हो ।

हाल सेवा निवृत्त न्यौपानेले सेवामा रहँदा २०६६ सालमा गुठिचौरस्थित राष्ट्रिय भेडाबाख्रा अनुसन्धान कार्यक्रमको ३ लाख वर्गमिटर अर्थात ५९० रोपनी जग्गा पत्नी गोमा, छोरी पार्वती र १४ जना आफन्तको नाममा दर्ता गराएको पाइएको छ ।

जुम्ला जिल्लाको घुम्नै पर्ने ठाउँमध्ये पर्छ, गुठिचौर । चाउले हिमाल, गिडी दह, ठाकुरज्यू लगायतका पर्यटकीय स्थलहरुले गोठीचौरको महत्व बढाएका छन् । चाउले हिमाल मुनिको कोल्टे गाउँबाट पश्चिममा छ, भेडाबाख्रा अनुसन्धान कार्यक्रमको फार्म । फार्ममा न्युजिल्याण्ड र अस्ट्रेलियाबाट ल्याइएका उन्नत जातका भेडा बाख्राबाट नश्ल सुधार गरिन्छ ।

राष्ट्रिय भेडाबाख्रा फार्मको विभिन्न कित्ताको २२ लाख वर्गमिटर जग्गा नापनक्सा भएको छ । साविक गुठिचौर गाविस ६ को कित्ता नम्बर ३ मा भेडाबाख्रा फार्मको नाममा ६ लाख २१ हजार ५२५ वर्ग मिटर जग्गा फिल्डबुकमा कायम छ । त्यसैमध्येको तीन लाख वर्ग मिटर (५९० रोपनी) जग्गा न्यौपानेले निजी बनाइदिएका हुन् ।

मालपोत अधिकृत रहँदा न्यौपानेले गरेको बदमासी प्रमुख जिल्ला अधिकारी (सीडीओ) भएर जुम्ला आएपछि रुद्रप्रसाद पण्डितले पत्ता लगाएका हुन् । पण्डित तिनै सिडिओ हुन् जसले सिराहामा पनि हडपिएको २१ विघा जग्गा सरकारको नाममा ल्याएका थिए । उनी २०७२ चैतमा जुम्लाका सिडिओ भएका थिए ।