कविता: दिलबहादुरको सपना

मंगलबार, २० फाल्गुन २०८१

काठमाडौँ – फागुन १४ अर्थात
तिम्रो छातिमा
बन्दुक पड्केको दिन
दिलबहादुर
तिमि महान बनेको दिन
तिमिले आन्दोलनमा उर्जा
भरेको दिन
बलिदानीको अध्याय
सुरु भएको दिन ।

न तिमि नेता थियौं
न कुनै कार्यकर्ता
तिमि मात्र थियौं
बालक दिलबहादुर ।
बालचेत रहेछ तिमिमा
गूरु बीरबहादुरको गिरफ्तारी
गलत हो भन्ने
त्यसैले उमेरले छेकेन
तिमिलाई प्रतिरोधमा उत्रन ।।

न थाहा थियो तिमिलाई मशाल
न जनमोर्चा न माओवादी
तर रहेछ तिमिमा
सही गलत
छुट्टाउन सक्ने बालचेत
त्यसैले खडा भयौं
बन्दुकको अगाडि ।

तिम्रो शहादत पछि
गाए गित उमा, कौशिला
इन्द्रा र शिवहरुले
भनेर रम्तेल भाईलाई
गोलिले हानेर ।
तिम्रै पदचाप पछ्याउन
तयार भए हजारौं वीरहरु
सधैं बाँच्ने शहीद बनेर
तिम्रै कथा र गित सुनेर ।।

न तिमिले देख्यौं प्रचण्ड
न बाबुराम वा कुनै ठूला नेता
मात्र बीरबहादुर सर
मात्र प्रतिरोध, त्यसैले
देखेनौं तिमिले बन्दुक
बन्दुकले देखेछ
मात्र रामप्रसाद र तिमि ।

तिमि छैनौं आज हामिसंग
मात्र तिम्रो शालिक र संग्राहलय
तर लेखिएको छ तिम्रो नाम
कालो अक्षरले
राष्ट्रिय शहीदको पंक्तिमा ।
तिमि शहीद बन्यौ.
महान भयौं
आज तिमिहरुकै बलिदानको
जगमा उभिएको छ गणतन्त्र
तर यही गणतन्त्रमा
मामुली वडा सदस्यमा
हामिले जिताउन सकेनौं
तिम्री आमालाई ।।

जिउदै छ तिम्रो सपना
दिलबहादुर
हामी पछ्याई रहेछौं
तिम्रै पदचाप
वीरता, बलिदान र आन्दोलनलाई
दुत्कार्नेहरु पनि
मान्न बाध्य छन् गणतन्त्र
स्वीकार्न बाध्य छन्
भुईमान्छेहरुको अस्तित्व
हत्या कसैले गर्न सक्दैन
तिम्रो सपनाको
दिलबहादुर
किनकि त्यो
लाखौं, करोडौं
भुइँमान्छेहरुको सपना हो ।

काजी गुरुङ (केन्द्रीय सदस्य, नेपाल कम्युनिष्ट पार्टी )