पाटन क्याम्पसको सभापतिमा शाहीको उम्मेदवारी
काठमाडौं – चैत्र ५ मा हुने स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनका लागि पाटन संयुक्त क्याम्पसमा अखिल (समाजवादी) बाट जनक बहादुर शाहीले सभापति पदमा उम्मेदवारी दिएका छन् । शाहीको नेतृत्वमा रहेको २१ सदस्यीय पूर्ण प्यानलले विधिवत रूपमा उम्मेदवारी दर्ता गराएका हुन् ।
उम्मेदवारी दर्तापछि शाहीले विद्यार्थीहरूसँग एकताको आह्वान गर्दै सेवा गर्ने अवसर दिन अपिल गरेका छन् । विद्यार्थीहरूको हक, अधिकार र विकासका लागि आफ्नो टिम प्रतिबद्ध रहेको भन्दै विद्यार्थीहरूका समस्या समाधान गर्न, शैक्षिक गुणस्तर सुधार गर्न र विद्यार्थी हितका विभिन्न कार्यक्रम सञ्चालन गर्न आफूहरु मैदानमा आएको बताए ।
शाहीले सबै विद्यार्थीहरूसँग न्यानो साथ र सहयोगको अपेक्षा गर्दै स्ववियू निर्वाचनमा आफूहरूलाई समर्थन गर्न आग्रह गरेका छन् । त्रिभुवन विश्वविद्यालयका आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसमा आगामी चैत ५ गते स्ववियु निर्वाचन हुने भएको छ । त्रिविका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा निर्वाचन हुन लागेको हो ।
