जापानबाट फेरी ६ जना नेपाली डिपोर्ट
काठमाडौं – जापानले ६ जना नेपालीलाई डिपोर्ट गरेको छ । नक्कली डकुमेन्ट पेस गरेर भिसा एप्लाई गरेको भन्दै जापानको अध्यागमनले डिपोर्ट गरेको हो । निष्कासनमा पर्नेमा चौधरी, कार्की, खड्का, गौतम, घर्ती मगर र भट्टचन थरका एक–एक जना रहेका छन् । उनीहरूमध्य दुई जनालाई थाइ एयरको विमानबाट र तीन जनालाई श्रीलंकन एयरलायन्सको विमानबाट आइतबार नेपाल फर्काइएको हो ।
झुटो कागजात पेस गरेका आरोपमा उनीहरूलाई जापानको अध्यागमन प्रहरीले पक्राउ गरेको थियो। पक्राउपछि उनीहरूलाई सोधपुछ गरी आवश्यक डकुमेन्ट बन्दोबस्ती गरेर नेपाल फर्काइएको स्रोतले बताएको छ।
कस्तो खालको कागजात पेस गरिएको भन्ने विषयमा भने खुलाइएको छैन। अघिल्लो साता दुई जनालाई जापानले निष्कासन गरेको थियो। अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा पुन र भुजेललाई नेपाल फर्काइएको थियो।
कन्सल्टेन्सीले बनाइदिएको नक्कली डकुमेन्ट प्रयोग गरेर उनीहरु जापान पुगेका थिए ।