शैक्षिक परामर्श व्यवसायी र विद्यार्थीलाई समस्या परे सहयोग गर्न तयार छौँ : परिसर प्रमुख अधिकारी
काठमाडौँ – जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख विश्वराज अधिकारीले शैक्षिक परामर्श व्यवसायी र परामर्श लिने विद्यार्थीलाई सहयोग गर्ने बताएका छन् । बुधबार नेपाल सैक्षिक परामर्श व्यवसायी महासंघद्वारा आयोजित प्रहरीसँग शैक्षिक परामर्श व्यवसायी विषयक अन्तरक्रियामा अधिकारीले यस्तो बताएका हुन् ।
कार्यक्रमको प्रमुख अतिथिसमेत रहेका अधिकारीले शैक्षिक परामर्श र परामर्श लिने विद्यार्थीलाई समस्या परेको खण्डमा सहयोगको लागि सदैव तत्पर रहने बताए ।
महासंघका अध्यक्ष राजेन्द्र बरालको अध्यक्षतामा भएको अन्तिरक्रियामा महासंघका सदस्य प्रकाश पाण्डेले परामर्श व्यवसायीले गर्ने कामका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा बोल्दै बरालले नेपाल प्रहरीसँग सहकार्य गरी शैक्षिक परामर्श व्यवशायलाई सुरक्षित र सहज बनाउन सहयोगका लागि आग्रह गरेका थिए ।
कार्यक्रममा नेपाल शैक्षिक परामर्श संघ इक्यानका अध्यक्ष शेषराज भट्टराईले अन्तरक्रियाको सहजिकरण गरेका थिए भने आइरिनका अध्यक्ष हेमन्त भट्टराईले उपस्थित सबैलाई स्वागत मन्तव्यमार्फत स्वागत गरेका थिए ।
इक्यानका महासचिव दीपकराज भुसालले संचालन गरेको कार्यक्रममा काठमाडौँ परिसर प्रमुख भएर आएका प्रहरी वरिष्ठ उपरीक्षक अधिकारीलाई बधाईसहित सफल कार्यकालको शुभकामना दिइएको थियो ।