मलेसियाबाट १३ जना नेपाली मजदुर पक्राउ
काठमाडौं – मलेसिया आन्दोलन गरेर दंगा भड्काएको आरोपमा १३ जना नेपाली कामदार पक्राउ परेका छन् । मलेसियाको पेराकमा तेलुक इन्टानको चांकाट जोङमा दंगा भड्काएकाले उनीहरू पक्राउ परेका हुन् ।
हिलिर पेराकका प्रहरी प्रमुख बकरी जैनल अबिदिनले शुक्रबार बेलुकी ९ः३५ बजेतिर जालान चांकाट जोङको बाटु–८ मा कारको ठक्करबाट मृत्यु भएपछि नेपालीले हूलदंगा गरेका थिए । त्यस क्षेत्रका लगभग १ हजार कामदार घटनास्थलमा भेला भएर ट्राफिक अवरुद्ध गरेका थिए । आन्दोलन गर्ने १ हजारमध्ये १३ जनालाई पक्राउ गरिएको हो ।
पक्राउ परेका सबैलाई चार दिनका लागि हिरासतमा राखिएको छ । उनीहरुलाई थप अनुसन्धानका लागि तेलुक इन्टान मजिस्ट्रेटको अदालतमा निवेदन दिएको बताइएको छ ।
पक्राउ परेका नेपाली कामदार कार्यरत कम्पनी र उनीहरूको नाम भने खुलाइएको छैन। यसअघि, फेसबुकमा विदेशी कामदारहरूको समूहले सडकमा दंगा गरिरहेको र ट्राफिक अवरुद्ध गरेको देखाउने भिडियो भाइरल भएको थियो ।