प्रदेश सरकारले यो वर्षको एसईई परीक्षा बहिस्कार गर्ने

मंगलबार, ५ चैत्र २०८१

काठमाडौँ – प्रदेश सरकारले यो वर्षको एसईई परीक्षा बहिस्कार गर्ने भएको छ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले केन्द्राध्यक्ष चयन प्रक्रियामा धाँधली गरेको भन्दै एसईई परीक्षा प्रक्रियामा प्रदेश सरकार सामेल नहुने घोषणा गरेका हुन् ।

मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले एसईई परीक्षा प्रक्रियामा प्रदेश सरकार सामेल नहुने घोषणा गरेका छन्।

उनले संघ, प्रदेश र स्थानीय सरकारबीचको सहकार्य, समन्वय र सहअस्तित्व भविष्यमा सुदृढ हुने अपेक्षा गर्दै यसपटकको एसइई परीक्षा प्रक्रियामा प्रदेश सरकार सामेल नहुने जानकारी गराए ।

मुख्यमन्त्री सिंहले आठै जिल्लाका एसईई परीक्षा समन्वय समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारीको भेला बोलाएर गोलाप्रथाबाट केन्द्राध्यक्ष चयन गर्न आदेश दिएका थिए । तर, त्यसविपरित केन्द्राध्यक्ष छानिएको भन्दै उनको असन्तुष्टि थियो ।

मुख्यमन्त्री सिंहले संघ र प्रदेशको निर्देशनविपरीत केन्द्राध्यक्ष तोकिएको विषयमा गहिरो छानबिन गरी त्यसभित्रका अन्तरवस्तु केलाए परीक्षा प्रणालीलाई मयार्दित बनाउन सम्बद्ध पक्षको ध्यानाकर्षण गराएका छन् ।