सरकारले थमायो हरेक नेपालीको टाउकोमा ९१ हजार ऋण

मंगलबार, ५ चैत्र २०८१

काठमाडौं -हरेक नेपालीको थाप्लोमा सार्वजनिक ऋण बढेर झन्डै ९१ हजार रुपैयाँ पुगेको छ । फागुनसम्म सरकारले तिर्न बाँकी सार्वजनिक ऋण बढेर २६ खर्ब ७६ अर्ब ३ करोड पुगेको छ ।

यो नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ४६.९१ प्रतिशत हो । गत असारमा प्रतिनेपाली ऋण करिब ८३ हजार थियो । गत असारसम्म सार्वजनिक ऋण २४ खर्ब ३४ अर्ब ९ करोड रुपैयाँ रहेको थियो ।

राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको राष्ट्रिय जनगणना ०७८ अनुसार नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ छ । यो जनसंख्याले गत फागुनसम्मको तिर्न बाँकी सार्वजनिक ऋणलाई भाग गर्दा उक्त तथ्यांक निकालिएको हो ।

राष्ट्रिय तथ्यांक कार्यालयले गत आर्थिक वर्षमा जीडीपी ५७ खर्ब ५ अर्ब रुपैयाँ पुग्ने प्रक्षेपण गरेको छ । निरन्तर बढ्दो सार्वजनिक ऋणले जोखिम निम्त्याउने संकेत देखिएको अर्थविद् बताउँछन् ।

कुल तिर्न बाँकी सार्वजनिक ऋणमध्ये आन्तरिक १३ खर्ब १५ अर्ब ५७ करोड ९जीडीपीको २३।०६ प्रतिशत० र बाह्य १३ खर्ब ६० अर्ब ४६ करोड रुपैयाँ ९जीडीपीको २३. ८५ प्रतिशत) रहेको कार्यालयले बताएको छ ।

यस वर्ष सरकारले ५ खर्ब ४७ अर्ब रुपैयाँ सार्वजनिक ऋण उठाउने लक्ष्य तय गरेको छ । यसअनुसार फागुनसम्म ३ खर्ब ३४ अर्ब ६२ करोड रुपैयाँ ऋण उठाएको छ ।