संसदीय पार्टी निकट विद्यार्थीको संयुक्त प्यानललाई पछि पार्दै अखिल (समाजवादी) को प्यानलै विजयी
रोल्पा – रोल्पाको परिवर्तन गाउँपालिका ५ बागमारामा रहेको रोल्पा नमूना क्याम्पसको स्ववियु निर्वाचनमा विप्लव निकट नेकपाको अखिल (समाजवादी) विजयी भएको छ । संसदवादी पार्टीहरु नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस र एमाले निकटका तीन ठुला विद्यार्थी संगठनहरुको साझा प्यानललाई पराजय गर्दै अखिल (समाजवादी) को प्यानलै विजयी भएको हो ।
अखिल (समाजवादी) का नेता चुडामणी केसीको प्यानल ठुला भनिने विद्यार्थी संगठनलाई चुनौती दिदै विजयी भएको हो । केसीले ७१ मत प्राप्त गरेर स्ववियु सभापतिमा निर्वाचित भएका छन् । उनका प्रतिद्वन्दी कांग्रेस, एमाले र नेकपा माओवादी केन्द्र निकट संगठनका साझा उम्मेद्वार दिपेन्द्र डाँगीले ४२ मत मात्र पाएका छन् ।
डाँगीलाई २९ मत्तान्तरले पराजित गर्दै केसी विजयी भएको निर्वाचन मण्डलका संयोजक गोपालबहादुर केसीले बताए । कोषाध्यक्ष पदमा अखिल (समाजवादी) का टोपबहादुर परियार निर्वाचित भएका छन् । परियारले ७१ मत प्राप्त गर्दा प्रतिद्वन्दी निर्मला डाँगीले ४५ मत पाएका छन् ।
यस्तै सचिव पदमा पनि अखिल (समाजवादी)का देवेन्द्र डाँगीले ६७ मत प्राप्त गरी विजयी भएका छन् । उनका प्रतिद्वन्दी प्रकाश रोका मगरले ४१ मत पाएका छन् । अखिल (समाजवादी)का तर्फबाट सदस्य देवी रिजालले ७१ मत प्राप्त गरी विजयी भएकी छन् भने प्रतिद्वन्दी कमला पुन मगरले ४४ मत पाएकी छन् ।
अखिल (समाजवादी)बाट अर्को सदस्य पदमा सीमाना बुढाले ७२ मत प्राप्त गरी विजयी भएकी छन् भने उनका प्रतिद्वन्दी अञ्जना बुढा मगरले ४४ मत पाएकी छन् ।
जम्मा १ सय २८ मतदाता रहेको क्याम्पसमा १ सय १७ मत खसेको थियो । मतदानमा ११ जना अनुपस्थित रहेको निर्वाचन समितिले जानकारी दिएको छ । त्यस्तै स्वतन्त्र उम्मेद्वार पृथी केसी र टिकाजङ घर्ती मगरले शून्य मत पाएका छन् । यो निर्वाचनले ठुला भनिने दलका विद्यार्थी संगठनलाई ठुलो धक्का पुगेको छ ।
जिल्लाको थवाङस्थित शहिद स्मृति क्याम्पसमा पनि अखिल समाजवादीको प्यानल विजयी भएको छ । क्याम्पसको स्ववियु अध्यक्ष स्वर्णिम रोकामगर, सचिवमा प्रकृति झाँक्रीमगर, कोषाध्यक्ष बीरशक्ति बुढामगर विजयी भएका हुन् ।