दलित परिवारको उठिवास लगाउने गाउँपालिका अध्यक्ष पक्राउ
काठमाडौं – महायज्ञका नाममा दलित परिवारको उठिवास लगाउने गाउँपालिकाका अध्यक्ष शिवजी यादवलाई प्रहरीले पक्राउ गरेको छ ।
उनी पक्राउपछि दीपक मरिकको परिवार विस्थापित भएको छ। यादवका छोरा र समर्थकले धम्की र गालीगलोज गरेपछि दीपक र उनकी श्रीमती दलित आयोगका पूर्वसदस्य कवुली पासवानको घरमा शरणमा पुगेका छन् भने छोराछोरीले प्रहरी चौकीमा रात बिताएका छन्।
समर्थकले धम्की र गालीगलोज गरेपछि दीपक मरिक डोमको परिवार शुक्रबार रातिदेखि विस्थापित भएको हो।
विष्णु महायज्ञको नाममा गत फागुन १० गते औरही गाउँपालिका ५ मा रहेको दीपकको घर डोजर लगाएर भत्काइएको थियो। घटना सार्वजनिक भएपछि संलग्न गाउँपालिका अध्यक्ष शिवजी यादव र वडा नम्बर ५ का वडाध्यक्ष दिलीप यादवलाई प्रहरीले शुक्रबार साँझ पक्राउ गरेको थियो।
अध्यक्ष यादव पक्राउ परेपछि उनका छोरासहित स्थानीयले दीपकको घरमा पुगेर गालीगलोज र धम्की दिएका थिए।