मलेसियाले गर्यो एकैपटक २६ जना नेपालीलाई निष्कासन

आइतबार, १० चैत्र २०८१

काठमाडौँ – वैदेशिक रोजगारको प्रमुख गन्तव्य रहेको मलेसियाले नेपालीमाथि ठूलो धरपकड गरेको छ। अध्यागमन कानुन उल्लंघन गरेर बसिरहेका नेपालीमाथि मलेसिया सरकारले धरपकड गरेको हो।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार मलेसियाको अध्यागमनले एकैपटक २६ जना नेपालीलाई निष्कासन गरेको छ। गत साता उनीहरूलाई मालिन्दो एयरलायन्सको विमानबाट नेपाल फर्काइएको हो।

निष्कासनमा पर्नेमा सरदार, साह, राउत, श्रेष्ठ, कार्की, विक, सुडी, सहनी, बटार, राई, सहनी, शेर्पा, केसी थरी रहेका छन्। त्यस्तै घर्तीमगर, लोहार, सहनी, थारु, राना मगर, तामाङ, सदा, यादव, विश्वकर्मा, सहनी, राई, सरदार र बुढा थरीका व्यक्तिहरूलाई निष्कासन गरिएको परराष्ट्रका एक अधिकारीले बताए।

मलेसियाले यसअघि अध्यागमन कानुन उल्लंघन गर्ने ८ जना नेपालीलाई निष्कासन गरेको थियो।