तीनकुने घटनाबारे हर्क साम्पाङले मुख खोले

शनिबार, १६ चैत्र २०८१

काठमाडौँ – तीनकुने घटनाबारे हर्क साम्पाङले मुख खोलेका छन् । राजावादीले गरेको आन्दोलनमा दुईजनाको मृत्यु भएकापछि भावुक हुँदै साम्पाङले देश बनाउन रगत नभई पसिना बगाउनुपर्ने बताएका छन् ।

नियमित श्रमदान कार्यक्रम अन्तर्गत सर्दुखोलामा स्वयसेवकहरुलाई सम्बोधन गर्ने क्रममा मेयर राईले एक नेपालीले अर्को नेपाली मारेर देश नबन्ने बताए ।तीनकुने घटना सम्झेर हर्क साम्पाङले रुँदै भने –रगत बगाएर देश बन्दैन, पसिना बगाउनुपर्छ।

उनले रुँदै भने, ‘हिजो मात्रै एउटा युवा शहीद बनेर गयो । हामी किन शहीद बन्नुपर्यो भन्दा हामीले देशलाई बाँझो बनायौं । आज देशमा केही छैन । आज ठूलो भिड विदेश गइरहेका छन् । हामी विदेशमा पनि मरिरहेका छौं । हामीले यो कुरा बुझ्छौं कि बुझ्दैनौं ? अब यो देश बनाउन पसिना बगाउनुपर्छ, एक नेपालीले अर्को नेपालीले रगत बगाएर देश बन्दैन । को ठूलो नेता बन्ने कुरा छाडिदिनुस् ।’

कार्यक्रममा राईले श्रमसम्बन्धी गीत गाइसकेपछि भावुक बनेका थिए । ऐनामा हेर्दा जो देखिन्छ, उसैले देश बनाउने भन्दै उनी हिजोको तीनकुनेको घटना सम्झेर भावुक बनेका थिए ।