एक व्यक्तिले आफैले विवाह गरेर दिएकी श्रीमती फिर्ता ल्याए

बुधबार, २० चैत्र २०८१

काठमाडौँ – एक व्यक्तिले आफैले विवाह गरेर दिएकी श्रीमती  फिर्ता माग्न गएका छन् । भारतको उत्तर प्रदेश राज्यका बबलूले चार दिनअघि आफ्नै श्रीमति राधिकाको बिहे अर्कासँग गराइदिएका थिए ।

श्रीमतिकै प्रेमी विकाससँग बिहे गराइदिएका बबलूले चार दिनपछि फिर्ता मागेका हुन् । दुई सन्तानकी आमा राधिकालाई विकासले फिर्ता पठाइदिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

भारतको उत्तर प्रदेश राज्यको सन्त कबीरनगर जिल्ला निवासी बबलू केही अघि आफ्नै पत्नी राधिकाको बिहे अर्कासँग गराइदिएर चर्चामा आएका थिए । पत्नीलाई उनकै प्रेमी विकाससँग बिहे गराइदिएका बबलू चार दिनभन्दा बढी आफ्नो निर्णयमा टिक्न सकेनन् ।

बबलूकी आमाले भारतीय सञ्चारमाध्यमसँग कुरा गर्दै भनेकी छन्, ‘हामीले त पहिला नै यस्तो निर्णय नलिन बबलूलाई सम्झाएका थियौँ तर मानेन । उसैले बिहे गराइदियो । पछि उसलाई पनि आफूले गल्ती गरेँ भन्ने लागेछ ।’

बबलूले पत्नी राधिकाको बिहे गराउने बेलामै बालबच्चाको हेरचाह आफैँ गर्ने भनेर राधिका र विकासलाई नयाँ दाम्पत्य जीवनको शुभकामना दिएका थिए ।

तर राधिकाविना बालबच्चाको हेरचाह गर्न कठिन भएपछि चार दिनमै बबलू राधिकाको हात माग्न विकासको घर पुगे । विकासले पनि राधिकालाई बबलूको जिम्मा लगाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।