रामजानकी मन्दिरका पुजारी पक्राउ

मंगलबार, २६ चैत्र २०८१

काठमाडौँ – रामजानकी मन्दिरका पुजारी पक्राउ परेका छन् । भारतको चम्पारण पिपरियामा रहेको मन्दिरमा पुजारीका रुपमा १० वर्षदेखि काम गर्दै आएका लोकनाथ साह तेली पक्राउ परेका हुन् ।

तेलीले जग्गा विवादमा ढोडा मुखिया विनलाई २५ वैशाख २०६४ मा गोली प्रहार गरी हत्या गरेका थिए । नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोका प्रवक्ता एवम् सूचना अधिकारी प्रहरी उपरीक्षक सुधिर राज शाहीका अनुसार मिति २०६४ वैशाख २५ गते प्रतिवादी तेलीले जग्गा सम्बन्धी विवादको विषयमा छलफल गर्ने भनी बोलाइ पर्साको साविक बहुअर्वाभाठा गाविस वडा नं. ५ बस्ने ढोडा मुखिया विनलाई गोली प्रहार गरी हत्या गरेर फरार रहेका थिए ।

उनी भारतस्थित चम्पारण पिपरियामा रहेको रामजानकी मन्दिरमा विगत दश वर्षदेखि साधुको भेष धारण गरी लुकिछिपी बसेको प्रहरीको अनुसन्धानमा खुलेको छ ।

सर्वोच्च अदालतको मिति २०६९ कात्तिक २४ गतेको फैसला आदेशले निजमाथि साविक मुलुकी ऐन, ज्यानसम्बन्धी महलकोे १३ ९१० बमोजिम सर्वस्वसहित जन्मकैद ठहर भएको थियो ।