आन्दोलनरत शिक्षक बल्ल भए वार्ताका लागि तयार
काठमाडौं – आन्दोलनरत नेपाल शिक्षक महासंघ सरकारसंग वार्ताका लागि तयार भएको छ। यसअघि सरकारले पटक-पटक वार्ताका लागि आह्वान गर्दापनि अस्विकार गर्दै आएको महासंघ आजभने सरकारसंग वार्ता गर्न तयार भएको हो।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले साँझ ५ बजेका लागि शिक्षक महासंघलाई वार्ताका लागि बोलाएको छ ।
‘अहिलेसम्म साँझ ५ बजेको समय भनिएको छ । शिक्षकहरू आउनु भएन वा केही कारणले सर्यो भने भन्न सकिन्न,’ मन्त्रालयका एक अधिकारिले भने ।
यसअघि पटक-पटक बोलाउँदा पनि महासंघ वार्तामा गएको थिएन । तर, आजको छलफलमा सहभागी हुने महासंघले जनाएको छ ।
‘मन्त्रालयले शिक्षा विधेयकमा छलफल गर्न बोलाएकाले आजको वार्तामासहभागी हुने महासंघ सहअध्यक्ष नानुमाया पराजुलीले बताएकी छिन् ।
३ बजेसम्म आन्दोलनकै कार्यक्रम भएकाले त्यसपछि मात्र छलफलमा जाने उनले बताइन् । आजको छलफलमा शिक्षक महासंघले आफ्नो कुरा राख्ने बताइएको छ । महासंघले ऐन जारी गर्न तीन वटा विकल्प दिएको छ । संसद्को विशेष अधिवेशन बोलाउने, बर्खे अधिवेशन छिटो बोलाउने वा अध्यादेशबाट ऐन जारी गर्न महासंघले भनेको छ ।