एनओसी रोकिएपछि हुण्डिमार्फत पैसा पठाउँदै विद्यार्थी, अवैध यात्रा गर्न बाध्य
काठमाडौँ – दक्षिण कोरियास्थित नेपाली दूतावासले नेपाली विद्यार्थीको समस्यालाई मध्येनजर गर्दै परराष्ट्र मन्त्रालयमार्फत शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई पत्राचार गर्यो । उक्त पत्र प्राप्त भएपछि शिक्षा मन्त्रालयले कोरियाको डि४ भिसाका लागि नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) बन्द गरिदियो ।
एनओसी बन्द भएपछि नेपालका शैक्षिक परामर्श व्यवसायीले विद्यार्थीलाई अवैध बाटोबाट कोरियाका विश्वविद्यालयमा ट्युसन फि पठाउन लगाएका छन् । शैक्षिक परामर्श व्यवसायीलाई नियमन गर्न शुझावसहित पठाएको पत्रलाई अपव्याख्या गर्दै मन्त्रालयले एनओसी रोकेपछि अवैध बाटोबाट ट्युसन फि पठाउने विद्यार्थी थप समस्यामा पर्ने देखिएको छ । कोरियामा रहेका विद्यार्थी तथा कामदारबाट विद्यार्थीको नाममा विश्वविद्यालयमा ट्युन फि तिर्न लगाउने, नेपालका शैक्षिक कन्सल्टेन्सीले विद्यार्थीबाट क्यास रकम लिने र नेपालमा ति कामदार तथा विद्यार्थीको परिवारलाई कन्सल्टेन्सीले रकम बुझाउने गरेका छन् । यसले विद्यार्थी भिसा नलागे ट्युसन फि रिफण्डमा समस्या हुनेछ भने विद्यार्थीको रकम फस्ने छ ।
एनओसी बन्द भएपछि कन्सल्टेन्सीले विद्यार्थीबाट ट्युसन फिको नाममा धेरै रकम उठाउने, कोडभिसा शुल्क भन्दै लाखौँ रकम अशुल्ने, भिसा लागेपछि भारत वा थाइल्याण्डको बाटो कोरिया पठाउने हुँदा हवाई टिकटसमेत मङ्गोमा पारेर नयाँ तरिकाबाट ठग्न थालेका छन् ।
नेपालस्थित कोरियन दूतावासले भिसा एप्लाई गर्ने विद्यार्थीको भिड अत्यधिक बढेपछि डि२ भिसामा एप्लाई गर्ने विद्यार्थीका लागि एकेडेमिक ३.२ जिपिए र आएल्समा ५.५ ल्याएको हुनुपर्ने व्यवस्था गरेको छ । यो व्यवस्था पछि थुप्रै कन्सल्टेन्सीले कोडभिसा भएको विश्वविद्यालयसँग एजेन्सी सम्झौता गरेका थिए । सम्झौता गरेकै बर्ष कन्सल्टेन्सीले वैध बाटोबाट विद्यार्थी पठाउन नपाएपछि अवैधबाटो अपनाएका हुन् ।
एकेडेमिक क्वालिफिकेशन नपुगेका, अंग्रेजी टेस्ट आएल्स नभएका विद्यार्थीलाई केही महिना अंग्रेजी वा कोरियन भाषा अध्ययन पश्चात व्याचलर वा मा्स्टर्स कोर्ष अध्ययन गर्न कोरियन सरकारले दिएको सुविधा हो डि४ भिसा । यसलाई चलनचल्तीको भाषामा कोडभिसा भनिन्छ । कोरियाका २० देखि २५ विश्वविद्यालयमा यस्तो भिसाको सुविधा छ । कोरियाको अध्यागम विभागले पत्याएका विश्वविद्यालयले मात्र यो कार्यक्रममा सहभागिता जनाउन पाउँछन् । विश्वविद्यालयको अन्तरवार्ता पास भएका विद्यार्थीलाई विश्वविद्यालयले अध्यागमन विभागमा भिसा एप्लाई गरेर उतैबाट भिसा पठाइदिने भएकाले यसलाई कोडभिसा भनिएको हो ।
नेपालस्थित शैक्षिक परामर्श व्यवसायीले कोरियास्थित नेपाली दूतावास हुण्डी कारोबारीको इसारामा चल्न थालेको आरोप लगाएका छन् । राजदूतका रुपमा पूर्वउपसभामुख शिवमाया तुम्बाहाम्फे आएपछि दूतावास हुण्डि कारोबारीको हव बनेको उनीहरुको आरोप छ । तुम्बाहाम्फेको कुटनीति अनविज्ञताको फाइदा उठाउँदै दूतावासका कर्मचारी जेनिम अधिकारीले ठूलो रकम उठाएर चलखेल गरिरहेको दूतावासकै कर्मचारीले समेत पुष्टि गरेका छन् ।
नेपालका शैक्षिक कन्सल्टेन्सीलाई नियमन गर्न दूतापासले नेपालस्थित परराष्ट्र मन्त्रालयलाई पत्र पठाएर चटक देखाउनमा हुण्डिवालाकै जोड भएको बुझिन्छ । नेपाली विद्यार्थीहरु कोरियामा पढ्न भन्दा कमाउने ध्याउन्नमा जाने भएकाले यसलाई रोक्न दूतावासको सुझाव थियो । यो समस्या नेपालका शैक्षिक कन्सल्टेन्सी भन्दा कोरियाका विचौलिया संस्थाका कारण आएको दूतावासलाई जानकारी नभएको पत्रबाट बुझ्न सकिन्छ । उनीहरुसँगै मिलेर नेपालका केही शैक्षिक कन्सल्टेनसीले यस्तो धन्दा चलाएका छन् ।
विश्वविद्यालयको आधिकारिक एजेण्टका रुपमा काम गर्ने, होस्टेल संचालन गर्ने र काम खोजिदिने यस्ता विचौलिया कम्पनीका कारण नेपाली विद्यार्थी निकै कम ज्यालामा दैनिक १८ घण्टासम्म काम गर्न बाध्य छन् । केही विश्वविद्यालयले यस्ता होस्टेलहरुको प्रभावमा परेर हप्तामा १ दिन अनलाइन कक्षामा सहभागी गराउने गरेका छन् । यसरी कक्षामा सहभागी नभएको, तोकिएको भन्दा धेरै काम गरेको पाइएपछि कोरियन सरकारले अध्यागमन कानुन अनुसार कारवाही गर्ने भएकाले विद्यार्थीलाई ठूलो रिक्स हुने गरेको छ ।
तर डि४ मा कोरिया जाने विद्यार्थीले ६ महिनासम्म काम गर्न पाउँदैनन् । एक लेभलको अंग्रेजी वा कोरियन भाषा अध्ययन सकेपछि र एकेडेमिक कक्षामा भर्ना भएपछि मात्र विद्यार्थीले तोकिएको समयसम्म काम गर्न पाउँछन् । डि-४ भन्दा डि-२ भिसामा कोरिया जाने विद्यार्थीले अबैध काम गर्ने गरेको व्यवसायीहरुको भनाई छ ।