निषेधित क्षेत्र तोड्ने तयारीमा रहेका राप्रपा नेतालाई पूर्वराजा शाहले एकाएक बोलाए निर्मल निवास
काठमाडौँ – पूर्वराजा ज्ञानेन्द्र शाहले राप्रपाका ७ जना नेताहरूलाई निर्मल निवासमा बोलाएर लन्च मिटिङ गरेका छन् ।
उनले शुक्रबार राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरूलाई बोलाएर छलफल गरेका हुन् । सो क्रममा उनले राजतन्त्रको पक्षमा जनमत बढेपनि राजावादी समूह नै एकताबद्ध नभएको गुनासो पोखेको उच्च स्रोतले बतायो ।
पूर्वराजाले नयाँ वर्षको अवसरमा आफ्ना सहयोगी दलका नेताहरूलाई बोलाएर लन्चसहितको छलफल गर्नुभएको हो । करिब डेढ घण्टाको छलफलमा मूलतः पूर्वराजाले राजावादी समूह एकताबद्ध नभएको विषयमा बढी गुनासो गर्नुभयो’, स्रोतको भनाइ छ ।
आन्दोलन एकताबद्ध हुन सकेको खण्डमा आन्दोलन बलियो हुनसक्ने र राजतन्त्र फर्काउने यात्रामा सहयोग पुग्ने पूर्वराजाको धारणा थियो । जनमत वर्तमान गणतन्त्रविरुद्ध रहेको बुझाइका साथ आफूले फागुन ७ मा देशको समृद्धि र उन्नतिका निमित्त साथ दिन सबै देशवासीहरूलाई आह्वान गरेको पूर्वराजाको भनाइ थियो ।
स्रोतका अनुसार राप्रपा अध्यक्ष लिङ्देनसहित पशुपति शमशेर राणा, प्रकाशचन्द्र लोहनी, विक्रम पाण्डे, ध्रुवबहादुर प्रधान, बुद्धिमान तामाङ र ज्ञानेन्द्र शाही निर्मल निवास पुगेका थिए ।