पूर्व प्रहरी प्रमुखको हत्या
काठमाडौं – पूर्व प्रहरी प्रमुखको हत्या भएको छ । भारत कर्नाटकका पूर्वप्रहरी महानिरीक्षक ओम प्रकाशको उनकै श्रीमतीले हत्या गरेकी हुन् । घटना भएको दिन ओम प्रकाशको आफ्नी श्रीमतीसँग भनाभन भएको थियो । भनाभनकै क्रममा श्रीमतीले खुर्सानीको धुलो आँखामा हालिदिएकी थिइन् । त्यसपछि बाँधेर चक्कु प्रहार गरिन् र सिसाले समेत प्रहार गरेको प्रहरीको भनाई छ ।
प्रहरीले शवलाई पोस्टमार्टमका लागि पठाएको छ । घटनालाई शंकास्पद हत्या मानेर प्रहरीले अनुसन्धान गरिरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
६८ वर्षीय ओम प्रकाशको शवमा चोटका धेरै दाग भेटिएको प्रहरीले जनाएको छ, जसले हत्या भएको शंका झनै गहिरो बनाएको छ । प्रारम्भिक अनुसन्धानमा प्रहरीले उनकी श्रीमतीमाथि शंका जनाए पनि थप अनुसन्धान जारी छ । श्रीमतीले नै हत्या गरेको आधिकारिक पुष्टि भने भएको छैन । प्रहरीले ओम प्रकाशकी श्रीमती र छोरीलाई नियन्त्रणमा लिएर झण्डै १२ घण्टासम्म सोधपुछ गरेको छ ।
कर्नाटकका पूर्व प्रहरी महानिरीक्षक (डीजीपी) ओम प्रकाश एक अनुभवी र सम्मानित प्रहरी अधिकृत थिए ।
न्यूज एजेन्सी पीटीआईको रिपोर्ट अनुसार ओम प्रकाशले केही समयअघि आफ्ना केही निकट सहयोगीहरूबाट ज्यानको खतरा रहेको उल्लेख गरेका थिए ।
प्रहरीले यस घटनामा परिवारकै कुनै सदस्यको संलग्नता रहेको आशंका व्यक्त गरेको छ । साथै, परिवारभित्र सम्पत्तिसम्बन्धी विवाद रहेको विवरण पनि बाहिर आएको पीटीआईले जनाएको छ ।