विद्यार्थीलाई चिट्ठी
गोरखा – प्यारा विद्यार्थी भाइ बहिनीहरुमा धेरै सम्झना
म आजको मिति सम्म त सन्चो आरामै छु आशा छ विद्यार्थी भाइ,बहिनीहरु पनि आरामै हुनुहोला भन्ने ।शारीरिक रुपमा आराम भएता पनि शिक्षक, विद्यार्थी ,आदरणीय अभिभावक ,स्थानिय निकायका पदाधिकारी ज्युहरु , तथा समाजसेवी लगायत सम्पूर्ण बुद्धिजीवी सचेत नागरिकहरु मानसिक रुपबाट त्यति सन्चो छैनौ किन कि निर्धारित समयमा नयाँ शैक्षिक सत्रको पठनपाठन सन्चालन हुन नसकेकोले हामी चिन्तित छौ ।
सर्बप्रथम त शैक्षिकसत्र २०८१को परीक्षामा सफल हुनु भएका सम्पुर्ण विद्यार्थी भाइ बहिनीहरुलाई हार्दिक बधाई छ ।साथै केहि विद्यार्थीहरु ग्रेडबृद्दि परीक्षा दिन पर्ने अबस्थामा हुनुहुन्छ राम्रोसँग अध्ययन गर्नुहोला समस्या परेको कुरा टिप्पणी गरेर जानकार दाइ दिदीहरुसङ वा बिषय शिक्षकलाई फोन गरेर भने पनि सोधपुछ गरि सिक्दै पुरक परीक्षाको तयारी गरि सफल हुनुहोला भन्ने अग्रिम शुभ कामना दिन चाहन्छु ।
विद्यार्थी भाइ ,बहिनीहरुलाई शिक्षक आन्दोलन किनरु केका लागि रुभन्ने खुल्दुली लागेको हुन सक्छ म त्यही जिज्ञासा मेटाउने प्रयास गर्दै छु । प्यारा विद्यार्थी भाइ,बहिनीहरु हामीलाई पढाउन अल्छि लागेर काठमाडौंको सडकमा देशै भरिका शिक्षक भेला भएका पक्कै होइनौ ।शिक्षा क्षेत्रमा राज्यले गरेको अन्याय ,असमान्ता ,बेथिति र राज्यले सिर्जना गरेको १७प्रकारका शिक्षकको समस्या अन्त्य गरि अग्रगामी शिक्षा ऎन लागू गराउन सकेमा आगामी दिनमा अहिलेको हामी शिक्षक बर्गले भोग्न परेको जस्तो पीडा भाबी पुस्ताले नपरोस र शिक्षा क्षेत्रमा राम्रो समय अनुकुल सुधारिएको शिक्षा ऐन र अन्य सेवा सुबिधा आशा लाग्दो भएमा योग्य,दक्ष र प्रतिभाशाली युवा पुस्ता पनि शिक्षण पेशामा आबद्ध हुने वातावरण सिर्जना भएमा यो देशको शैक्षिक उन्नति ,प्रगती अझै राम्रो हुनेछ भन्ने सोचका साथ शिक्षक आन्दोलन थालनी गरिएकोछ शिक्षा समाज बिकासको मेरुदण्ड हो त्यसैले शिक्षा नीति राम्रो बनोस र मुलुक सिस्टममा चलोस भन्ने लक्ष्यका साथ शिक्षक महासघको नेतृत्वमा शिक्षक आन्दोलन २०८१-१२-२० गतेदेखि संचालन भएकोछ। हामी पनि पेशागत हक हितको लागि आन्दोलनको मैदानमा सहभागी भएका छौं ।
प्यारा भाइ, बहिनीहरु हामीले सोचेका थियौ बढिमा ५, ७ दिन आन्दोलन गरेपछि राज्यले वार्ता गरेर समस्या समाधान होला भन्ने आशा गरेर माइतीघर मन्डलामा भेला भयौ तर सरकारले सुनेन चैते दशै जहान परिवार ,इष्ट मित्र भेला भएर मनाउन पाएनौ सडकैमा मनायौ।,नयाँवर्ष पनि आन्दोलनमा एक आपसमा शुभ कामना व्यक्त गर्दै मनाउन बाध्य भयौ ।आज भोलि भन्दा भन्दै द्दछ औ दिन सम्म हामी आन्दोलनमा छौ ।हामीले प्यारा विद्यार्थी भाइ, बहिनीहरुको पढनपाठन र आदरणीय अभिभावक बर्गको बालबालिकाहरु प्रतिको चिन्तन ,मनन र लक्ष्य हामी कर्तव्यनिष्ट शिक्षकले कदापि बिर्सेका छैनौं भाइ बहिनीहरुका लागि नयाँ कक्षाको भर्ना र हाजिरी रजिस्टर ,अनि नयाँ पुस्तक प्रधानाध्यापक ज्युले फोन मार्फत अडर गरेर विद्यालयमा ब्यबस्था मिलाइसक्नु भएकोछ ।पुस्तक बितरण गर्न भने आन्दोलनको सिमा मापदण्डअनुसार सकेका छैनौं यसमा माफ गर्नुहोला ।
बरु पासहुनु भएका दाइ, दिदीहरुको पुरानो पुस्तक मागेर पढ्दै गर्नुहोला समयको सदुपयोग गर्दै नेपाली , अग्रेजीको अक्षर सुधारको लागि दैनिक रुपमा एक एक पाना पाठ सार्ने ,चित्र बनाउने ,गणितको शुत्र घोक्ने ,ब्याकरणको पुस्तक पढ्ने ,निबन्ध लेख्ने तथा अन्य रचनात्मक कार्यमा अभ्यास्त हुनुहोला भन्ने आशा गर्दछु ।साथै मोबाइल , टेलिभिजन हेरेर समय धेरै खर्च नगरी चुनौतीलाई अबसरको रुपमा सदुपयोग गर्दै आफ्नो आमा,बुबा ,दाइ, दिदी अभिभावकसंग कृषि कार्य र भान्सामा खानाका विभिन्न परिकार पकाउने पाक शिक्षा ब्यबहारिक जीवन उपयोगी सीप सिक्न पनि समय दिनु भएमा राम्रै हुनेछ ।
सुन्दैन यदि सुन्नेले भने भन्नेले मात्र गर्छ र पो के ? नाङ्गाको मुलुकमा धोबीले काम खोज्दा पाउछ र पो के? भने जस्तै शिक्षा मन्त्री बिद्या भट्टराईले शिक्षकको माग सुनेर समाधानको लागि विकल्पको खोजिमा प्रयास गर्नु भै वार्तामा बसेर निर्णय गर्ने मनसाय गर्नु भएको थियो तर प्रधानमन्त्रीको अडान र हट्को कारणले वातावरण सिर्जना नभए पछि राजिनामा नै दिनुपर्यो । हाल नव नियुक्त शिक्षा मन्त्री ज्युको पहलमा बार्ताको माहोल बन्दैछ आशा गरौं न्यायको जित अबस्य हुनेछ भन्ने आशाको साथ आन्दोलनरत छौ ।हाम्रो माग सबै पूरा हुन्छ भन्ने पनि होइन तर सम्भावना भए सम्मका मुख्य मागसहित अग्रगामी शिक्षा ऎन लागू भएको भोलिपल्ट नै हामी विद्यालयमा पढाउन आउन हतारमा छौं ।
यो आन्दोलन हाम्रो रहर नभई राज्यले बनाएको बाद्य्यता हो त्यसैले आदरणीय स्थानीय निकायका पदाधिकारीज्युहरु ,समाजसेवी ,विद्यालय ब्यबस्थापन समिति ,शिक्षक अभिभावक संघ र अभिभावकज्युहरु त आन्दोलनको यथार्थता बारे स्पष्ट हुनुहुन्छ ।त्यसैले शिक्षक आन्दोलनको सफलता को कामना गर्दै सर्बप्रथम एतिहासिक गोरखा जिल्लाका ११ वटै स्थानीय निकायका नगरपालिकाका आदरणीय मेयर , उपमेयर गाउँ पालिकाका आदरणीय अध्यक्ष ,उपाध्यक्ष र जनप्रतिनिधि ज्युहरुले सामुहिक रुपमा जायज मागप्रति सहयोग तथा समर्थन जनाउनु भइ आम श्रमजीवी शिक्षक हरुको मनोबल उच्च बनाइदिनु भएकोमा हामी आभारी छौं ।
प्यारा विद्यार्थी भाइबहिनीहरुलाई अझै आन्दोलनको केही माग बारे स्पष्ट गराउन चाहान्छु कक्षा ११र१२ मा पढाउने सर मिसहरुले अहिले सम्म स्थायीको लागि आयोगको परीक्षा दिन पाउनु भएको छैन आशै आशमा उमेर ३५ / ४० बर्ष कटि सक्यो अब स्थायी जागिरको लागि उमेरको हदबन्दी लाग्ने बेला भयो। तपाईंहरुलाई बालकक्षामा पढाउनु भएका मिसहरुपनि न्यून तलबमा पढाउन बाध्य हुनु भएकोछ हाल सम्म दरबन्दी कायम भएको छैन ।नानीबाबुहरुलाई मायालु वातावरणमा खेलाउदै ,पढाउदैमा पढाउने सहयोगी कार्यकर्ताको पनि दुखको कुरा शिक्षक सेवा आयोगको परीक्षा दिने उमेरको हदबन्दी लाग्ने बेला भयो तर जागिरको ठेगान छैन त्यस्तै बिधालयमा वार्षिक रुपमा करोडौ हरहिसाब राख्ने ,सर्टिपिकेट बनाउने लेखापालको पनि दरबन्दी छैन ।
अझै दुखको कुरो त बिगत ३५ / ४० वर्ष पहिला देखि सायद तपाईंहरुको बुबा , ममी ,काका ,दाइ ,दिदी र अहिले तपाईंहरुलाई पनि बिद्यालयमा निकै टाढाटाढा को धाराबाट गाग्रीमा पानी बोकेर पानी खुवाउने ,स्कुलमा घण्टी बजाउदा बजाउदै ६० बर्ष उमेरको हदबन्दी लागेकोले मासिक रु पाँच , सात हजार तलबमा काम गरेर बिधालयमा पानी खुवाउदा खुवाउदै बिचरा आफुलाई अरुले पानी खुवाउन पर्ने बेलामा मलिन अनुहार बनाउदै जागिर छोडेर खाली हात घर जानू पर्ने बाध्यता हजारौँ कार्यालय सहयोगीहरुको तितो यथार्थ छ ।
हो यस्तै यस्ता विविध समस्याको उचित समाधान बैज्ञानिक ढङ्गले गरियोस र गुणस्तरीय अग्रगामी नयाँ शिक्षा ऐन लागु होस भन्ने उद्देश्यले शिक्षक बर्ग आन्दोलनमा छौ हाम्रो सामुहिक बाध्यतालाई मनन गरि धैर्य गरिदिनुहोला भाइ बहिनीहरुको आन्दोलनको कारण असर परेको पढाई हामी सल्लाह गरेर बिदाको समयलाई सदुपयोग गरि कोर्श पूरा गर्ने प्रयास गर्नेछौ भन्दै आन्दोलनबारे छोटो जानकारी गराउदै पत्र बन्द गर्दछु बाकी कुरा भेटमा गरौंला ।
विद्यार्थीको भलो चाहाने शिक्षक
भेदमान बस्नेत
श्री जनशक्ति मा बि
सहिद लखन गाउँ पालिका ९ गोरखा