जसपा नेत्रीको ‘पेस्तोल डान्स’ भाइरल, के गर्दै छ प्रहरी ?
काठमाडौं —जनता समाजवादी पार्टी (जसपा) नेपालकी केन्द्रीय नेतृ डा. बबी सिंह यादवले पेस्तोल पड्काउँदै नाचिरहेकी भिडियो भाइरल भइरहेको छ । बुधवार रातिदेखि फेसबुकमा भाइरल भइरहेको सो भिडियोमा नेतृ यादवले पेस्तोल पड्काएको समेत स्पष्ट देखिन्छ ।
यो भिडियो वैवाहिक समारोहका क्रममा खिचिएको हो। भिडियो सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा यसको व्यापक आलोचना भइरहेको छ । डा. यादव सप्तरीको बोदे बरसाईन नगरपालिका–५ निवासी हुन्। उनी राष्ट्रियसभा सदस्य तथा जसपाका उपाध्यक्ष मृगेन्द्र सिंह यादव की छोरी हुन् ।
सप्तरीका प्रहरी प्रमुख एसपी ढकेन्द्र खतिवडाले घटनाबारे अनुसन्धान सुरु गरिएको जानकारी दिएका छन्। “भिडियो मैले पनि हेरेको छु। उहाँलाई बोलाएर सोधपुछ गरिनेछ,” उनले भने, “सोधपुछपछि थप तथ्यहरू स्पष्ट हुनेछन् र त्यसअनुसार कानुनी प्रक्रिया अघि बढाइनेछ।”