पाकिस्तानविरुद्ध भारतले चाल्यो अर्को कडा कदम
काठमाडौँ – पाकिस्तानविरुद्ध भारतले अर्को कडा कदम चालेको छ । भारतले राष्ट्रिय सुरक्षा र सार्वजनिक नीतिहरूलाई ध्यान दिदै पाकिस्तानबाट हुने सबै प्रत्यक्ष र अप्रत्यक्ष आयातमा प्रतिबन्ध लगाएको छ ।
पहलगानको आतंकवादी हमलापछि भारत सरकारले पाकिस्तानसँग भएको सिन्धु जल सन्धि निलम्बन गरेको छ, भारतमा बसोबास गर्ने सबै पाकिस्तानीलाई देश छाड्न आदेश दिइएको छ भने पाकिस्तानी एयरलाइन्सका लागि भारतीय हवाई क्षेत्र बन्द गरेको छ ।
जम्मू कश्मीरको पहलगाममा भएको आतंकवादी हमलापछि भारत र पाकिस्तानबिच बढ्दो तनावका बिच भारतले पाकिस्तानबाट आयात हुने सबै सामानमा प्रतिबन्ध लगाएको हो । पाकिस्तानमा उत्पादन हुने र पाकिस्तानबाट भारत आउने सामानहरूमा तत्काल लागू हुने गरी प्रतिबन्ध लगाइएको हो।
यस सम्बन्धमा, वाणिज्य तथा उद्योग मन्त्रालय अन्तर्गतको वैदेशिक व्यापार महानिर्देशनालयले एक सूचना जारी गरेको छ। सूचना अनुसार यस सम्बन्धमा एक प्रावधान विदेश व्यापार नीति २०२३ मा थपिएको छ। जसमा भनिएको छ, ‘अर्को आदेश नभएसम्म तत्काल लागू हुने गरी पाकिस्तानबाट आउने वा निर्यात हुने सबै सामानहरूको प्रत्यक्ष वा अप्रत्यक्ष आयातमा प्रतिबन्ध लगाइएको छ।’