विद्यार्थी ठग्ने खड्काले विश्वविद्यालय र कन्सल्टेन्सीलाई समेत ठगे

बिहिबार, २५ बैशाख २०८२

काठमाडौँ – विद्यार्थीलाई विश्वविद्यालयको नक्कली अफर लेटर दिएर झुक्याउने, शैक्षिक कर्जाका नाममा २ लाख पचास हजार असुल्ने, नक्कली बैंक स्टेटमेन्ट र नक्कली शैक्षिक कर्जा बनाएर बदनाम फ्र्याङ्कलिन एजुकेशन एण्ड मार्केटिङका दिपक बहादुर खड्काले विश्वविद्यालयलाई समेत ठग्न थालेका छन् । फ्र्याङ्कलिन एजुकेशनको बदनाम भएपछि ‘दी अफिसियल रिप्रिजेन्टेटिभ’ को नामबाट बेलायतका चर्चित विश्वविद्यालयको नक्कली इमेल बनाएर ठग्न थालेका हुन् ।

दिपक खड्काको यो कम्पनीले मोटिभेट न्यूजलाई प्राप्त विवरण अनुसार युनिभर्सिटी अफ इस्ट लण्डन, विपिपि युनिभर्सिटी, युनिभर्सिटी अफ वेस्टअफ स्कटल्याण्ड, युनिभर्सिटी अफ रोहिम्टनको नक्कली इमेल बनाई नेपालका शैक्षिक परामर्श व्यवसायीलाई सब–एजेण्टको अफर गरेको छ । नक्कली इमेलबाट आफू नै विश्वविद्यालयको उपकुलपति भए जसरी इमेल गर्दै विश्वविद्यालयहरुको बदनाम गरेको छ भने शैक्षिक कन्सल्टेन्सीमा भ्रम छरेको छ । आज युनिभर्सिटी अफ इस्ट लण्डनको मात्र चर्चा गर्नेछौँ ।

uel.offers@gmail.com बाट पठाइएको इमेलमा सेप्टेम्बर इन्टेकका लागि भर्ना खुलेको भनेर शीर्षक राखिएको छ । ‘युनिभर्सिटी अफ इस्ट लण्डनबाट शुभकामना ! हामी सेप्टेम्बर २०२५ इन्टेकको लागि आवेदनहरू खुला भएको घोषणा गर्न पाउँदा खुसी छौं । हामीले अफर लेटरहरू जारी गर्न सुरु गरिसकेका छौं ।’ अन्जना बरालको नामबाट पठाइएको इमेलमा भनिएको छ । सोही इमेलमा अन्जना बराल र समिक्षा थापालाई विश्वविद्यालयको आधिकारिक प्रतिनिधिका रुपमा प्रस्तुत गरिएको छ भने एकनारायण पौडेललाई विश्वविद्यालयको गुनासो सुन्ने अधिकारी बताइएको छ ।

इमलेमा युनिभर्सिटी अफ इस्ट लण्डनको टिम भनेरै उनीहरुले आफूलाई चिनाएका छन् । उनीहरुले गरेको यो काम किर्ते अन्तरगत पर्छ । यो विश्वविद्यालय नेपालमा भएको भए र यस्तै काम नेपालको शैक्षिक कन्सल्टेन्सीले गरेको भए किर्ते जालसाजी मुद्धामा ठूलै सजाय हुन्थ्यो । यो बेलायतको विश्वविद्यालय भएपनि उजुरी गर्न त सक्छ तर बेलायतबाट उजुरी गर्न आउने सम्भावना कम हुन्छ । विदेशी कुनै संस्था वा निकायले गरेको उजुरीलाई नेपालको प्रहरी प्रशासन र अदालतले भने गम्भीरताका साथ लिने गरेको छ ।

किन गर्यो बदमासी ?

मोटिभेट न्यूज डटकमले बारम्बार फ्र्याङ्कलिन एजुकेशन एण्ड मार्केटिङ नामको कन्सल्टेन्सीका ठगी र बदमासीका समाचार लेखेपछि बेलायतका विश्वविद्यालयहरुले विश्वास गर्न छोडे । नेपालकै शैक्षिक कन्सल्टेन्सीहरुले सोचे जस्तो सहयोग गरेनन् । मोटिभेट न्यूजले खड्काको मुकुण्डो उतारिदिएपछि भनेजस्तो आम्दानी र सोचे जस्तो बदमासी गर्न पाएनन्  । फ्र्याङ्कलिनबाट बदमासी र ठगी गर्न नपाएपछि १३ सेप्टेम्बर २०१९ मा उनकै नाममा दर्ता भएको डामण्ड डाइरेक्ट लिमिटेडको नाम परिवर्तन गरी ‘दी अफिसियल रिप्रिजेन्टेटिभ लिमिटेड’ बनाएका हुन् ।

बेलायतको कम्पनी हाउसमा दर्ता भएको यो कम्पनी नामबाटै जालसाजी र ठगी गर्न खुलेको थाह हुन्छ । विश्वविद्यालयबाट एजेण्टका रुपमा अनुमति लिएर आउने र शैक्षिक कन्सल्टेन्सीलाई आफू नै विश्वविद्यालयको आधिकारिक प्रतिनिधि भन्दै झुक्याउन उनले यस्तो नाम राखेका हुन् । उनले शैक्षिक कन्सल्टेन्सीलाई झुक्याउन अर्को बदमासी पनि गरेका छन् । ‘दी अफिसियल रिप्रिजेन्टेटिभ लिमिटेड’ नाममा वेवसाइड बनाएका छैनन् । विश्वविद्यालयको आधिकारिक प्रतिनिधिका रुपमा विश्वविद्यालयको बदनाम गर्दै लुट्न पाएपछि वेवसाइड किन बनाउने ? वेवसाइड बनाउँदा एजेण्ट जस्तो देखिने भएपछि नबनाएका हुन् ।

विश्वविद्यालयको आधिकारिक प्रतिनिधि भन्दा शैक्षिक कन्सल्टेन्सीहरुले पनि छिट्टै विश्वास गर्छन् । विश्वास हुँदा कन्सल्टेन्सीले सजिलै विद्यार्थीको फायल दिन्छन्, राम्रो विद्यार्थी रिफर गर्दा विश्वविद्यालयसँग बार्गेनिङ गर्न पाउँछन्,  विश्वविद्यालयले पनि अरुले दिने भन्दा राम्रो कमिसन दिन्छन्, मार्केटिङ बजेट र बोनस पनि राम्रो पाइन्छ । त्यही भएर दिपक बहादुर खड्काले यस्तो बदमासी गरेका हुन् ।

नेपालमा दर्ता छैन

बेलायतको कोर्ट लन्डन रोड, लण्डनको आइल्याण्ड बिजनेस सेन्टरमा कार्यालय रहेको ‘दी अफिसियल रिप्रिजेन्टेटिभ लिमिटेड’ नेपालमा भने दर्ता छैन । पोखराको नयाँ गाउँमा कार्यालय राखेर अबैध धन्दा चलाइरहेको यो कम्पनीले विद्यार्थीलाई परामर्श दिने, कन्सल्टेन्सीलाई सब-एजेण्ट बनाउने मात्र होइन हुण्डि कारोबारसमेत गर्दै आएको छ ।

बेलायतमा कार्यालय राखेर बेलायतमै बैंक खाता खोलेको यो कम्पनीले कन्सल्टेन्सीलाई दिने कमिसन हुण्डिमार्फत पठाउने गरेको छ । कन्सल्टेन्सीलाई ७० देखि ९० प्रतिशतसम्म कमिसन दिने यो कम्पनीले करोडौँ रकम हुण्डिमार्फत नेपाल ल्याएको छ । यसरी रकम नेपाल ल्याउँदा देशको रेमिट्यान्समा असर परेको छ भने आन्तरिक राजस्व गुमेको छ ।

 

हुण्डिमार्फत कारोबार गर्दा शैक्षिक कन्सल्टेन्सीसमेत आन्तरिक राजस्वको अनसन्धानमा परेका छन् । कन्सल्टेन्सीले अनिवार्य भ्याटमा कारोबार गर्नुपर्ने हुन्छ । यो कम्पनीले सिधा बैंकिङ च्यानलबाट कारोबार गर्न भ्याट बिल लिनुपर्छ । भ्याट बिललिदाँ राज्यलाई १३ प्रतिशत भ्याट र आर्थिक बर्ष सकिएपछि नाफाको २५ प्रतिशत आयकर तिर्नुपर्ने हुन्छ । तर यो कम्पनीले नेपालबाट डाइरेक्ट व्यक्तिगत खातामा वा क्यास दिने हुँदा करोडौँको करछली भएको छ र कन्सल्टेन्सीलाई पनि करछली गर्न प्रेरित गरिरहेको छ ।

विश्वविद्यालयका प्रतिनिधिको पनि मिलेमत्तो

नेपालमा युनिभर्सिटी अफ इस्ट लण्डनको प्रतिनिधिका रुपमा असिम घिमिरेले काम गरिरहेका छन् । उनलाई विश्वविद्यालयले तलव दिएर काममा राखेको हो । उनको काम नेपालमा एजेन्सी पाएका शैक्षिक कन्सल्टेन्सीले आयोजना गर्ने इभेन्टमा सहभागी हुने, विद्यार्थी रिफर गर्न मार्केटिङ गर्ने, विद्यार्थीको अन्तरवार्ताका लागि समय छनोट गर्ने र सम्भाव्यता अध्ययन गरि एजेन्सी पनि दिने हो । तर उनी ‘दी अफिसियल रिप्रिजेन्टेटिभ लिमिटेड’ को कर्मचारी जसरी काम गरिरहेका छन् ।

यो कम्पनीले गर्ने अबैध कामको साँची मात्र बनेका छैनन् साँझेदार पनि बनेका छन् । कतिसम्म भने ‘दी अफिसियल रिप्रिजेन्टेटिभ लिमिटेड’ले दिने सब–एजेण्टको सर्टिफिकेटमा पनि उनको हस्ताक्षर छ । विश्वविद्यालयको बदनाम हुनेगरी गरेको हस्ताक्षरसहितको सर्टिफिकेट हेर्नुहोस् ।

दी अफिसियत रिप्रिजेन्टेटिभको सब एजेण्टलाई दिने प्रमाणपत्रमा विश्वविद्यालयको प्रतिनिधिको हस्ताक्षर किन ? ‘दी अफिसियल रिप्रिजेन्टेटिभ लिमिटेड’ नक्कली इमेल बनाएको र साँझेदार बनेको विषयमा बुझ्दा घिमिरे यो कम्पनीका संचालक दिपक बहादुर खड्काको भाषा बोल्छन् । यो कम्पनीले विश्वविद्यालयको लोगोमात्र प्रयोग गर्न नपाउने बताउँदै उसले गरेका सबै काम जायज भएको बताउँछन् । मोटिभेट न्यूजसँग कुरा गर्दै उनले आफू नै विश्वविद्यालय भएकाले यो कम्पनीका काममा जानकार भएको बताए । उनले लोगो मात्र प्रयोग गर्न नपाइने बताइरहँदा उनीहरु (दी अफिसियत रिप्रिजेन्टेटिभ)ले प्रयोग गर्ने ह्वाट्सएपमा विश्वविद्यालयको लोगो प्रयोग भएको छ ।

के भन्छ विश्वविद्यालय ?

विश्वविद्यालयका प्रतिनिधि असिम घिमिरेले आफू नै विश्वविद्यालय भएको बताएपछि हामीले बेलायतस्थित विश्वविद्यालयमा सम्पर्क गरेका थियौँ । हामीले विश्वविद्यालयको कानुन तथा उजुरी शाखामा सम्पर्क गर्दा भर्ती तथा प्रवेश शाखाबाट रिप्लाई आएको थियो । हामीलाई विद्यार्थी भर्ती तथा प्रवेश निर्देशक स्टेफनी वाल्टनले यो कार्य गैरकानुनी रहेको भन्दै प्रतिक्रिया दिएका छन् ।

उनले युनिभर्सिटी अफ इस्ट लण्डनले मार्केटिङ, भर्ना वा सञ्चारको लागि अनौपचारिक वा नक्कली इमेल खाताहरूको प्रयोगलाई अबैध मान्ने बताए । इमेलमार्फत सम्पर्कमा आएका उनले सबै आधिकारिक सञ्चारहरू विश्वविद्यालयका प्रमाणित इमेल डोमेनहरू मार्फत सञ्चालन गरिएको ठोकुवा गरे । विश्वविद्यालयको मार्केटिङ, ब्राण्डिङ र प्रतिनिधित्व सम्बन्धी कडा नीतिहरू र प्रोटोकलहरू भएकाले गलत गर्ने प्रतिनिधि अनुसन्धानको दायरामा आउने उनको भनाई छ ।

इमेल बन्द

दिपक बहादुर खड्का मुख्य शेयरधनी रहेको यो कम्पनीले विश्वविद्यालयको uel.offers@gmail.com नामको इमेल बन्द गरेको जनाएको छ । मोटिभेट न्यूज डटकमसँग कुरा गदै यो कम्पनीका गुनासो सुन्ने अधिकारी बताउने एकनारायण पौडेलले इमेल बन्द गरिसकिएको बताए । ‘तपाईँको अध्ययन पुगेन । हामीले इमेल बन्द गरिसकेका छौँ ।’, नक्कली इमेल किन बनाएर चलाएको भन्ने प्रश्नमा उनले भने, ‘तपाईँ को हो र हामीलाई प्रश्न गर्ने ? तपाईँ पत्रकार महासंघको सदस्य हो र ?

मोटिभेट न्यूजले विश्वविद्यालयसँग कुराकानी गरिरहेको जानकारी पछि र विश्वविद्यालयको चेतावनी पछि अर्को इमेल चलाइएको पाइएको छ । यो विषयमा बुझ्न खोज्दा दिपक भने सम्पर्कमा आएनन् ।