नेपाल विद्युत प्राधिकरणको लापरवाहीका कारण एक जनाको मृत्यु

शनिबार, ३ जेष्ठ २०८२

काठमाडौं—नेपाल विद्युत प्राधिकरणको लापरवाहीका कारण एक जनाको ज्यान गएको छ । विद्युत्को खम्बामा काम गरिरहेका सर्लाहीका उपेश परियारको करेन्ट लागेर मृत्यु भएको हो । प्राधिकरणले विनासूचना विद्युत् लाइन छाड्दा ११ हजार भोल्टको करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको हो । सालो केटो उपनामले परिचित हितेन्द्र शाक्य एमडि भएर आएपछि प्राधिकरणमा विभिन्न काण्डहरु भइरहेका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार ११ हजार भोल्टको हाइटेन्सन लाइनको खम्बामा चढेर काम गरिरहेको अवस्थामा बिहान ११ः३० बजे अचानक करेन्ट लाग्दा परियारको घटनास्थलमै मृत्यु भएको हो ।

कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेका अनुसार घटनाको अनुसन्धानका लागि कार्यालयबाट प्रहरी निरीक्षक दिनेशबहादुर कुँवरको कमाण्डमा टोली खटाइएको छ ।

तार जोड्न खम्बामा चढेका परियारको विद्युत् प्राधिकरणले सूचनाविना नै विद्युत् लाइन छाड्दा करेन्ट लागेर मृत्यु भएको जनाइएको छ । विद्युत् प्राधिकरण काभ्रेपलाञ्चोक वितरण केन्द्र बनेपाले शुक्रबार एक सूचना जारी गर्दै शनिबारदेखि त्यसक्षेत्रमा ११ केभी लाइन चार्ज गरिने भएकाले लाइनको वरिपरी गाईवस्तु नछाड्न, विद्युत्को खम्बालगायतका विद्युतीय सामग्री नछुन सार्वजनिक आह्वान गरेको थियो ।

मृतक परियारको शवलाई खम्बाबाट निकालेर शव परीक्षणका लागि धुलिखेल अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।