सोमबार बेलुका नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त गर्ने सरकारको तयारी

आइतबार, ४ जेष्ठ २०८२

काठमाडौं—सरकारले सोमबार बेलुका नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त गर्ने भएको छ । गभर्नर सिफारिस समितिको बैठकले नेपाली कांग्रेसका नेता विश्व पौडेलसहित निलम ढुंगाना र ज्ञानेन्द्र ढुङ्गानाको नाम सिफारिस गर्ने र सोमबार बेलुका बस्ने मन्त्रीपरिषद बैठकले पौडेललाई नियुक्त गर्ने बताइएको छ ।

गभर्नरमा राजनीतिक दलबाट सिधै नियुक्ति गरिनु नेपाल राष्ट्र बैंक ऐन, २०५८ को प्रतिकूल भएको दावीसहित पेश गरिएको निवेदन सर्वोच्च अदालतबाट अस्ति दरपीठ गरियो । तर सोही दरपीठविरुद्ध सर्वोच्च अदालतमै दायर भएको छुट्टै निवेदन पर्सिको इजलासमा पेश हुने भएको छ ।

अदालतले उक्त निवेदन मंगलबारको इजलासमा पेशी चढाएको छ । रजिष्ट्रार भद्रकाली पोखरेलको दरपीठ गर्ने बेरितको आदेश बदर गरी रिट दर्ता गर्न मागसहित अधिवक्ताद्वय प्रतिभा उप्रेती र विशाल थापाले छुट्टै निवेदन पेश गरेका थिए ।

उक्त निवेदन इजलासमा पेश भई बहसपश्चात् रजिष्ट्रारको आदेश न्यायाधीशबाट बदर भएमा रिट निवेदन दर्ता हुनसक्ने कानुनी व्यवस्थाको सहारामा अधिवक्ताद्वयले दरपीठ विरुद्ध निवेदन पेश गरेका छन् ।

सार्वजनिक सरोकार देखाउन नसकेको र पत्रपत्रिकामा प्रकाशित भएकै आधारमा निवेदन पेश गरेको देखिएकोले दरपीठ गरेको सर्वोच्चका रजिष्ट्रार पोखरेलको जेठ २ गतेको दरपीठ आदेशमा उल्लेख छ । यद्यपी रजिष्ट्रारलाई ढाँचामात्रै हेर्ने अधिकार भएकोले दरपीठ गर्न नपाउने भन्दै अधिवक्ताद्वयले रिट दर्ताको माग गरेका छन् ।