अख्तियारले गर्यो थप एक जना भिआईलाई पक्राउ
काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थप एक जना भिआईलाई पक्राउ गरेको छ । मानव तस्करीको गिरोहसँग साँठगाँठ गरेको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख तथा गृहमन्त्रालयका सहसचिव तीर्थराज भट्टराईलाई अख्तियारको टोलीले बुधबार पक्राउ गरेको हो ।
अध्यागमन कार्यालयका प्रमुखकै मानव तस्करीको गिरोहसँग साँठगाँठ रहेको हुनसक्ने देखिएकोअख्तियारले जनाएको छ । त्यससम्बन्धी केही प्रमाणहरू फेला परेपछि कार्यालयका प्रमुख तीर्थराज भट्टराईलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार पक्राउ गरेको छ ।
भट्टराईको मोबाइलसमेत जफत गरेर जाँच थालिएको छ । ‘मोबाइलमा यससँग सम्बन्धित महत्त्वपूर्ण विवरणहरू छन्’, एक अधिकारीले भने, ‘कागजातहरू समेत नियन्त्रणमा लिएर अब विस्तृत अनुसन्धान हुन्छ ।’
अहिले पनि विमानस्थलस्थित अध्यागमन कार्यालयमा आयोगको टोलीले छापा मारिरहेको छ । विमानस्थल अध्यागमन कार्यालयका प्रवक्ता अञ्जन न्यौपानेले चाहिँ आफू बाहिर रहेको भन्दै घटनाबारे बताएनन् । आयोग स्रोतका अनुसार, उनले मानव तस्करीमा संलग्न गिरोहलाई सहयोग गरेको बारे यथेष्ट आधारहरू फेला परेका छन् । यसबारे गृह मन्त्रालयसम्म पनि सूचना पुगेको थियो । त्यसपछि एकदिन अघि मात्र उनी सरुवामा परेका थिए ।