रोयल च्यालेन्जर्स बेंगलुरुका मार्केटिङ प्रमुख निखिल पक्राउ

शुक्रबार, २३ जेष्ठ २०८२

काठमाडौँ — इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) ले जितेपछि आयोजित विजयोत्सव समारोहमा भागदौड हुँदा ११ जनाको निधन भएको घटनालाई लिएर प्रहरीले आरसीबीका मार्केटिङ प्रमुख निखिल सोसलेलाई पक्राउ गरेको छ ।

भारतको बेंगलुरुस्थित एम चिन्नास्वामी स्टेडियममा बुधबार राति आरसीबीको जितको खुसीयाली मनाउने क्रममा भएको भागदौडमा ११ जनाको मृत्यू भएको थियो । स्थानीय प्रहरी प्रशासनले रोयल च्यालेन्जर्स बेंगलुरुकै कमजोरीका कारण उक्त घटना भएको आरोप लगाउँदै आएको छ ।

आफूहरुले बुधबार विजयोत्सव समारोह नराख्न पटक–पटक अनुरोध गरे पनि बेंगलुरुको व्यवस्थापनले अटेर गरेका कारण यस्तो अप्रिय घटना भएको प्रहरी प्रशासनको आरोप छ । उक्त घटनामा ३५ जनाभन्दा बढी समर्थक घाइते भएका थिए ।

आरसीबीका मार्केटिङ प्रमुख निखिललाई अनुसन्धानका क्रममा पक्राउ गरिएको प्रहरीले जनाएको छ । यसअघि प्रहरीले आईपीएल क्लब आरसीबी, विजयोत्सव कार्यक्रमको व्यवस्थापन गर्ने कम्पनी डीएनए इन्टरटेनमेन्ट नेटवक्र्स र कर्नाटक राज्य क्रिकेट संघविरुद्ध जाहेरी दर्ता गराएको थियो ।

पक्राउ पर्नुअघि निखिल सहरबाट भाग्ने तयारीमा रहेको दाबी पनि प्रहरीले गरेको छ । स्थानीय प्रशासनसँग अनुमति नलिई सौधाबाट चिन्नास्वामी स्टेडियमसम्म विजय जुलुस निकाल्ने घोषणा गरेको आरोप निखिलमाथि लगाइएको छ ।

प्रहरीले पटक–पटक अनुरोध गर्दा पनि निखिलले सामाजिक सञ्जालबाट जुलिस निकाल्ने सूचना हटाएका थिएनन् । निखिलले स्टेडियमको गेट नम्बर ९ र १० मा निःशुल्क पास वितरण गरिने सूचना पनि सामाजिक सञ्जालमा राखेको प्रहरीको आरोप छ ।

तर, कार्यक्रम स्थलमा उनले भनेजस्तो निःशुल्क पासको व्यवस्था गरिएको थिएन । उनले आफ्नो सूचनामा रङ्गशालाको ढोका दिउँसो ३ः०० बजे खुल्ने उल्लेख गरेका थिए । यस्ता भ्रामक सूचना राखेपछि समर्थकहरु झनै अन्योलमा परेको प्रहरीको आरोप छ ।