बम विस्पोटमा परि मृत्यु भएका सबैको सनाखत, केपी–प्रचण्डका कारण घटना घटेको विप्लवको आरोप
काठमाडौं – आइतबार काठमाडौंमा भएको शृंखलाबद्ध रुपमा भएको बम विस्फोटमा निधन भएकाहरु सनाखत भएको छ । मृत्यु हुनेमा सबै नकपाका कार्यक्रता भएको पुष्टि भएको छ ।
नेकपा महासचिव नेत्रविक्रम चन्द्र (विप्लव)ले सोमबार नेपाल बन्द सकिएपछि निकालेको विज्ञप्ति मार्फत बम बिस्फोटमा निधन भएकाहरु सबै नेपाल कम्युनिष्ट पार्टीकै नेता, जनमुक्ति सेना र जबस मोर्चाका कमाण्डरहरु भएको पुष्टि गरेका हुन । विप्लवले कपन र घट्टेकुलो विस्फोटको जिम्मा पनि लिएका छन् ।
साथै उक्त घटनामा निधन भएका चारैजनालाई सहिद घोषणा समेत गरेका छन् । त्यसैगरी विप्लवले विज्ञप्तिमा प्रहरीको गोली लागेर मृत्यु भएका भोजपुरका तिर्थराज घिमिरेलाई पनि सहिद घोषणा गरेका छन् ।
महासचिव विप्लवले सहादत प्राप्त गर्नेहरूप्रति सिङ्गो पार्टीका तर्फबाट उनले भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनप्रति समवेदना पनि व्यक्त गरेका छन् । साथै काठमाडौँमा बम विस्फोटको घटनामा कसरी क्षति हुन पुग्यो, त्यसको सत्यतथ्य जनतामा ल्याउने प्रतिवद्धता पनि व्यक्त गरेका छन्।
विप्लवले सरकारी दमनका कारण आइतबार राजधानीका दुई ठाउँमा विस्फोट भएको बताएका छन् । साथै यी सबै घटना हुनुको मुख्य दोषी केपी सरकारको फासिवादी दमन रहेको तर्क पनि उनले गरेका छन्।
“केपी–पीके कम्पनीको सरकार गठन भएदेखि नै नेपाली जनता र राष्ट्रको मुक्तिका लागि गरिएका सङ्घर्ष, आन्दोलनमा उत्रिएका पार्टी र जनतामाथि दमन गर्नु, हाम्रो पार्टीका नेता÷कार्यकर्ता, शुभचिन्तकलाई गिरफ्तार गर्नु, यहाँसम्मकि दोहोरो मुठभेटका नाममा निःशस्त्र व्यक्तिमाथि गोली प्रहार गरी हत्याका घटनाहरू हुन थालेका छन् । साथै यो सरकारले राष्ट्रघात र जनघातमा पनि यसअघिका प्रतिक्रियावादी सरकारलाई उछिनिरहेको छ” विप्लवद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्तिमा विप्लवले सहिदहरूको बलिदान खेर जान नदिने भन्दै एकीकृत जनक्रान्ति सफल गरिछाड्ने प्रतिबद्धता व्यक्त समेत गरेका छन् । नेपाल बन्दको पूर्वसन्ध्यामा घट्टेकुलो, कपन र चन्द्रगिरीमा बिस्फोट हुँदा नेकपाका चार जनाको मृत्यु हुनुको साथै ६ कार्यकर्ताहरु घाइते भएका छन् ।
फोटो : संचार केन्द्र
