इक्यानले मनलाग्दी विज्ञापन गर्ने कन्सल्टेन्सीलाई कारवाहीका लागि सिफारिस गर्ने
काठमाडौँ – शैक्षिक परामर्श क्षेत्रको सबैभन्दा ठूलो छाता संगठन नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले सामाजिक संजालमा मनलाग्दी विज्ञापन गर्ने शैक्षिक कन्सल्टेन्सीलाई कारवाही गर्न सम्बन्धीत निकायलाई सिफारिस गर्ने भएको छ । इक्यानले “शैक्षिक परामर्श सेवा सम्बन्धी आचारसंहिता” उल्लङ्घन नगर्न शैक्षिक कन्सल्टेन्सीलाई कारवाहीका लागि नियामक निकायलाई सिफारिस गर्ने भएको हो ।
सूचनामा अटेरी गरी भ्रामक विज्ञापन गर्ने जोकोहीलाई नियामक निकायहरूसँग समन्वय गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाउने बताइएको छ । इक्यानको अनुशासन विभागद्वारा जारी सूचनामा हालसालै सामाजिक सञ्जाल फेसबुक, टिकटक, इन्ट्राग्राम तथा अन्य डिजिटल माध्यमहरूमा सार्वजनिक भइरहेका केही शैक्षिक विज्ञापन तथा सामग्रीहरू नेपाल शैक्षिक परामर्श सेवा सम्बन्धी आचारसंहिताको भावना र मापदण्ड विपरीत देखिए उल्लेख छ ।
‘यस्ता सामग्रीहरूले विद्यार्थीहरूमा भ्रम सिर्जना गर्नुका साथै सम्पूर्ण शैक्षिक परामर्श पेशाको प्रतिष्ठामा गम्भीर क्षति पुर्याउने खतरा रहेको छ। शैक्षिक परामर्श सेवा शिक्षा क्षेत्रसँग प्रत्यक्ष सम्बन्धित, जिम्मेवार र पेशागत सेवा हो। यसलाई नैतिकता, पारदर्शिता र उत्तरदायित्वसहित सञ्चालन गर्नु सबै सरोकारवालाहरूको साझा कर्तव्य हो।’, सूचनामा भनिएको छ ।
इक्यानले सन् २००६ (वि.सं. २०६३) मा पारित गरेको “शैक्षिक परामर्श सेवा सम्बन्धी आचारसंहिता” मा विज्ञापनसम्बन्धी स्पष्ट मापदण्डहरू उल्लेख गरिएको बताउँदै यसको पूर्ण पालना गर्न सबै सदस्य संस्थाहरू र परामर्शदाताहरूका लागि अनिवार्य भएको जनाएको छ ।
यस्तो छ सूचना