कन्सल्टेन्सीले झण्डै २१ हजार कामदारलाई जापान पठाउँदा मेनपावर २ हजारमा सिमित
काठमाडौँ – अद्वैत मार्ग, बागबजारको एक कन्सल्टेन्सीले सन् २०२३ को डिसेम्बरमा सामाजीक संजालमार्फत ‘स्डडि एण्ड वर्क इन जापान’ शीर्षकमा विज्ञापन गर्यो । विज्ञापनमा जापानीज भाषा पढाई हुने, जापानमा वर्किङका लागि चाहिने एसएसडब्लु कोर्ष पढाई हुने र पढाई पछि स्टडि र वर्किङका लागि जापान पठाउने उल्लेख थियो ।
त्यही विज्ञापन हेरेर कोहलपुर, बाँकेकी कल्पना क्षेत्री (नाम परिवर्तन) काठमाडौँ आइन् । केही समय भाषा सिकेपछि उनीसंगकन्सल्टेन्सीले पासपोर्ट माग्यो । उनले पासवर्ड दिइन् । कन्सल्टेन्सीले सन् २०२४ को फ्रेबुअरीमा जापानको स्किल पर्कमा पठाउने, कृषिमा काम गर्नुपर्ने, मासिक २ लाखसम्म तलव हुने विश्वास दिलाउँदै त्यसका लागि ९ लाख रुपैयाँ खर्च लाग्ने बतायो ।
‘९ लाख खर्च गरेर मासिक २ लाख कमाइन्छ भन्ने भएपछि खर्च गर्न तयार भएँ । घरमा पनि बुवामम्मी खुशी हुनुभयो ।’, मोटिभेट न्यूज डटकमको सम्पर्कमा आएकी उनले भनिन्, ‘खर्चको जोहो गर्दासम्म कन्सल्टेन्सीले भिसादेखि वर्क परमिटसम्म ल्याइसकेको थियो । मसँग अरु दुई जना पनि हुनुहुन्थ्यो । हामी तीनैजना भिसा लागेपछि जापान गयौँ ।’
जापानमा उनीहरुको टोलीले माछा मार्ने काम पाए । ‘काम माछामार्ने भनेपनि विहान ५ बजेर उठेर घरको काम गर्नुपर्ने, ६ बजेदेखि राति ८ बजेसम्म खेतमा जानुपर्ने, दिउसो १ घण्टामा फुर्सद पाइन्थ्यो ।’ भावुक हुँदै उनले भनिन्, ‘नुवाउन र कपडा धुनपनि फुर्सद हुँदैनथ्यो । हामीलाई कन्सल्टेन्सीले दिनमा ८ घण्टा काम र हप्तामा दुई दिन छुट्टी हुने बताएको थियो । तर हामी नर्कमा फसेजस्तै भयौँ ।’
उनले काम गर्न नसकेपछि कम्पनीले उनलाई अनेत्र सरुवा गरिदियो । ‘अर्को ठाउँमा पनि लामो समयसम्म काम दिएन, काम भएपनि हप्तामा दुई, तीन दिनमात्र काम पाउने भयो । जसोतसो १ बर्षको भिसा सकिएपछि म नेपाल फर्किएकी छु ।’, उनले भनिन्, ‘यो स्किल भिसा त युवालाई ठग्ने काम रहेछ । मजस्ता थुप्रै मान्छेहरु जापानमा अलपत्र परेका छन् ।’ उनी नेपाल फर्किएपछि मोटिभेट न्यूजको सम्वन्वयमा कन्सल्टेन्सीले ९ लाखसहित १ बर्षको व्याज र क्षेतिपूर्ति तिरेको छ । उनी जापानमा दुःख पाएर फर्किएपछि अब नेपालमै केही गर्ने योजनामा पुगेकी छिन् ।
कल्पना प्रतिनिधि पात्र मात्रै हुन् । उनीजस्ता २० हजार ८ सय ३१ जना यसैगरी जापान पुगेर ठगीएका छन् । धेरैजना भारी बोक्ने, खेत खन्ने, घर, अफिसको सरसफाई गर्ने लगायत निकै निम्नस्तरको काममा गएका छन् । कल्पनाको भनाईलाई आधार मान्ने हो भने नेपालीहरुले कुकुरले पनि नपाएको दुःख पाएका छन् ।
कतिले लिए वर्कपर्मिट ?

माथिको चित्रमा देखाए अनुसार सन् २०२४ मा वैदेशिक रोजगार विभागबाट २८ हजार ७ सय ५ जनाले श्रम स्वीकृति लिएका छन् । उनीहरुमध्ये मेनपावरमार्फत २ हजार १८ जनाले श्रम स्वीकृति लिएका छन् भने २० हजार ८ सय ३१ जनाले आफै श्रम स्वीकृति लिएका छन् । बाँकी ५ हजार ८ सय ५६ जनाले पुनश्रम स्वीकृति लिएका छन् ।
चित्रमा देखाए अनुसार २० हजार ८ सय ३१ जनाले शैक्षिक कन्सल्टेन्सीमार्फत व्यक्तिगत श्रमस्वीकृति लिएका हुन् । किनभने अपवादबाहेक नेपालको कुनै पनि युवाले आफै जापानबाट डिमाण्ड ल्याएर आफै वर्क परमिट लिनसक्ने क्षमता राख्दैनन् । कन्सल्टेन्सीले जापानमा रहेका जव–सेन्टरबाट डिमाण्ड ल्याएर श्रम स्वीकृति लिई भिसा एप्लाईसमेत गरिदिने गरेका छन् । यसरी भिसा एप्लाई गर्दा कन्सल्टेन्सीले ६ लाखदेखि १८ लाख रुपैयाँसम्म उठाउने गरेका छन् ।
श्रोतले दिएको जानकारी अनुसार स्किल र स्पेसिफिक स्किल वर्क (एसएसडब्लु) भिसाका लागि चिनेको आफन्त वा नजिकको मान्छेबाट ६ लाख र अरुबाँकीबाट १२ लाख रुपैयाँसम्म ठटाउने गरेका छन् भने व्याचलर भिसाका लागि १८ लाख स्थापित दर तोकिएको छ । जुनसुकै विषयमा स्नातक पास गरेका व्यक्तिलाई परिवारसहित जान पाइने हुनाले यो भिसामा आक्रषण बढेको छ ।
कतिको भिसा लाग्यो ?

सन् २०२४ मा नेपालबाट ७३ हजार ५ सय ४७ जना जापान पुगेका छन् । यसरी जापान जानेमा ३५ हजार ८७ अध्ययनका लागि, १४ हजार २ सय ७९ कामका लागि, १३ हजार ७ सय १ छोटो अवधिको भिसाका लागि र ९ हजार ७ सय ७८ जना डिपेण्डेन्ट भिसामा जापान पुगेको नेपालस्थित जापानीज दूतावासको तथ्याङ्कमा उल्लेख छ । दूतावासको तथ्याङ्क अनुसार कामका लागि नेपालबाट जनवरी १ देखि डिसेम्बर ३१ सम्म सबैभन्दा धेरै व्याचलर भिसा (कन्ट्रि अफ इन्जिनियर) मा जापान गएका छन् । तथ्याङ्क अनुसार ५ हजार ८ सय १ जना व्याचलर भिसा, स्किल वर्कका लागि ३ हजार ९ सय ९, भाषा पास गरेर एसएसडब्लु भिसामा ३ हजार ३५ र मेनपावरबाट १४ सय ७ जना जापान गएका छन् । मेनपावरबाट गएकाहरु तुलनात्मक रुपमा सुरक्षित मानिन्छ ।
डाटामा किन आयो अन्तर ?
माथिका दुइवटा चित्रले फरक फरक तथ्याङ्क देखाएका छन् । पहिलो चित्रमा श्रम स्वीकृति लिनेको संख्या २८ हजार ७ सय ५ देखाएको छ भने सोही अवधिमा १४ हजार २ सय ७९ जनाको भिसा लागेको छ । मेनपावरमार्फत २ हजार १८ जनाले श्रम स्वीकृति लिएका छन् भने २० हजार ८ सय ३१ जनाले कन्सल्टेन्सीमार्फत व्यक्तिगत श्रम स्वीकृति लिएका छन् । ५ हजार ६ सय ५६ जनाले पुनरस्वीकृति लिएकाले उनीहरुले भिसा लगाउन पर्दैन । यसरी हेर्दा ८ हजार ५ सय ७० जनाको भिसा नलागेको देखिन्छ ।
तर कुरा त्यस्तो होइन् । नेपालस्थित जापानीज दूतावासका अनुसार भिसा लगाउनका लागि श्रम स्वीकृतिको आवश्यकता पर्दैन । विदेश उड्नका लागि विमानस्थलमा श्रम स्वीकृति चाहिने हुनाले जापानका हकमा भिसा लागेपछि लिने चलन छ । सन् २०२४ अघिनै भिसा लागेका कामदारले श्रम स्वीकृति लिँदा हिसावमा तलमाथि देखिएको दूतावासका एक कर्मचारीले बताए ।
वर्किङको काम गर्नेलाई कारवाही
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक परामर्श व्यवसायीको आवरणमा मेनपावरको काम गर्ने व्यवसायीलाई कारवाही हुने जनाएको छ । मन्त्रालय अन्तरगतको शैक्षिक परामर्श तथा प्रमाणिकरण शाखा प्रमुख शेमन्तराज कोइरालाले गैरजिम्मेवारी पूर्वक काम गर्ने व्यवसायीलाई कारवाही हुने बताए । ‘हामीलाई बजारमा कसले के गरेको छ थाहा हुँदैन् । हामीले थाहा पाउने वित्तिकै कारवाहीको प्रक्रिया अगाडि बढाएका हुन्छौँ ।’, मोटिभेट न्यूजसँगको भेटमा उनले भने, ‘यदी कसैले शैक्षिक परामर्श तथा भाषा शिक्षण निर्देशिका विपरितको कार्य गरेको रहेछ भने सूचना दिनुहोस् । हामी कारवाहीका लागि प्रहरीलाई लेखेर पठाउँछौँ ।’
यता वैदेशिक रोजगार विभागले पनि विदेशमा कामका लागि पठाउने जोकोहीले ठगेको उजुरी परेमा कारवाही अगाडि बढाउने जनाएको छ । विभागका उपमहानिर्देशक तथा प्रवक्ता चन्द्र बहादुर शिवाकोटीले शैक्षिक कन्सल्टेन्सीमार्फत कामका लागि विदेश जानु वा पठाउनु गैरकानुनी भएको बताउँदै कन्सल्टेन्सीले पनि ठगेको विषय विभागको कार्यक्षेत्र भित्र पर्ने बताए । ‘कामका लागि विदेश जाने मेनपावरबाटै हो, कोही कन्सल्टेन्सीबाट गएर ठगीएको छ भने त्यो विभागको कार्यक्षेत्र भित्र पर्छ ।’, मोटिभेट न्यूजसँगको टेलिफान संवादमा शिवाकोटीले भने, ‘तर ठगीएको प्रमाण चाहिँ हुनुपर्छ ।’
के भन्छन् व्यवसायी ?
वैदेशिक रोजगार व्यवसायी महासंघले अवैध रुपमा काम गर्ने शैक्षिक कन्सल्टेन्सीलाई कारवाही गर्नुपर्ने जनाएको छ । महासंघका अध्यक्ष भुवान सिंह गुरुङले कामका लागि विदेश पठाउनका लागि सरकारले मेनपावर व्यवसायीलाई इजाजत दिएको बताउँदै इजाजतबीना मेनपावरको काम गर्ने कन्सल्टेन्सीलाई कारवाही गर्नुपर्ने बताए ।
‘मेनपावरबाट जाँदा कामदार सुरक्षित हुन्छ । करार अवधिभित्र कामदारलाई केही भयो भने, भनेअनुसारको काम पाइएन, तलव पाइएन भने त्यसको जिम्मेवारी मेनपावरले लिनुपर्छ ।’, उनले भने, ‘व्यक्तिगत श्रम स्वीकृति लिएर कन्सल्टेन्सीबाट गयो भने समस्या आउँछ । कन्सल्टेन्सीको काम त पुर्याइदिने मात्र हो । तर हामी व्यवसायीले करार अवधिसम्मको जिम्मा लिनुपर्छ ।’
यता, नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले परामर्श व्यवसायीले मेनपावरको काम गर्न नहुने जनाएको छ । इक्यानका महासचिव दीपकराज भुसालले डिमाण्ड ल्याउने, यति जनाको भिसा लाग्यो भन्दै हल्ला गर्ने, स्डडि एण्ड वर्क इन जापान भनेर विज्ञापन गर्ने कुरा गैरकानुनी भएको बताए ।
‘कसैले जापानीज भाषा पढाउँछ भने ठिक छ । कन्सल्टेन्सीले पढाउन पाउँछ । तर भाषा पढाउने नाममा मेनपावरको काम गर्नु राम्रो होइन । यो अनैतिक त छ नै इलिगल पनि छ ।’, उनले भने, ‘यसलाई राज्यले नियमित अनुगमनमार्फत कन्ट्रोल गर्नुपर्छ । इक्यानले यस्ता व्यवसायीलाई कारवाहीका लागि सम्वन्धित् निकायलाई लेखिपठाउने गरेको छ ।’