माधव नेपालपछि एकीकृत समजवादीका अर्का शक्तिशाली नेतामाथि मुद्धा

बिहिबार, ५ असार २०८२

काठमाडौँ – माधव नेपालपछि नेकपा एसका अर्का शक्तिशाली नेतामाथि मुद्धा लागेको छ । दाङ क्षेत्र नं १ प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री मेटमणि चौधरीमाथि ठगी तथा बैकिङ कसुरमा जाहेरी परेको हो ।

रोल्पा घर भएका मगर थरका निर्माण व्यवसायीले चौधरीविरुद्ध पाँच करोड ४० लाख ठगेको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालय दाङमा जाहेरी दिएका हुन् । उनको जाहेरी दर्ता भएर अनुसन्धान अगाडि बढेको छ ।

जाहेरीपश्चात प्रहरीले मुद्दा दर्ताको प्रक्रिया थालेको छ । चौधरी पार्टी उपमहासचिव एवं प्रमुख सचेतकसमेत हुन् ।

उनी दाङ- १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् । जिल्ला प्रहरी कार्यालय दाङका एसपी अर्जुन तिमिल्सिनाले सांसद चौधरीविरुद्ध हुलाक मार्फतबाट चेक अनादरमा जाहेरी आएको बताए । जाहेरीमाथि अनुसन्धान भइरहेको र मुद्दा दर्ताको प्रकृयामा रहेको तिमिल्सिनाले बताए ।

स्रोतका अनुसार प्रहरीले चौधरीविरूद्ध बैंकिङ कसुर र ठगीमध्ये कुन मुद्दा चलाउने भन्नेबारे कानूनी परामर्श थालेको छ । प्राप्त उजुरीका बारेमा थप छानबिन गरेर मुद्दा दर्ता प्रक्रिया अघि बढाइने प्रहरी स्रोतको भनाइ छ ।