अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्यो

मंगलबार, १० असार २०८२

काठमाडौं—अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य ह्वात्तै घटेको छ । इजरायलले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको इरानसँग द्विपक्षीय युद्धविरामको प्रस्तावमा सहमति जनाएको बताएपछि मङ्गलबार पाँच प्रतिशतभन्दा बढीले तेलको मूल्यमा गिरावट आएको हो । कच्चा तेल मंगलबार पाँच दशमलव दुई प्रतिशतले घटेर प्रतिब्यारेल ६७ दशमलव ७५ डलरमा कारोबार भएको छ ।

“द्वन्द्वको सम्भावित अन्त्यलाई बजार सहभागीहरूले स्वागत गरेका छन्”, एमयुएफजीका ली हार्डम्यानले लेखेका छन् । उनले ब्रेन्टले ‘द्वन्द्व सुरु भएदेखि नै सबै लाभहरू लगभग पूर्ण रूपमा उल्ट्याएको’ बताए ।

“अमेरिकी डलरले हालैको लाभ फिर्ता दिएर एफएक्स बजारमा पनि यस्तै परिवर्तन भइरहेको छ । यदि मध्यपूर्वको जोखिम अब बजार चालकका रूपमा पृष्ठभूमिमा मिसिएको छ भने अमेरिकी डलरको कमजोर प्रवृत्ति फेरि सुरु हुने सम्भावना बढी छ”, उनले भने ।

इरानले रणनीतिक स्ट्रेट अफ होर्मुज हुँदै तेल ढुवानीलाई रोकेर आफ्नो आणविक सुविधाहरूमा सप्ताहन्तमा अमेरिकी आक्रमणको बदला लिनसक्ने सम्भावनामा सोमबार बिहान कच्चा तेलको मूल्यमा केही समयका लागि वृद्धि भएको थियो । तर इरानले कतारको प्रमुख अमेरिकी अड्डामा क्षेप्यास्त्र प्रहार गरेको र तेलक्षेत्रको सम्पत्ति अप्रभावित रहेको बताएपछि तिनीहरू सात प्रतिशतसम्म तल झरेको थियो ।