जिल्ला प्रशासन कार्यालयले निकाल्यो दर्ता भएका कन्सल्टेन्सीको अन्तिम लिष्ट

आइतबार, २२ असार २०८२

काठमाडौँ – जिल्ला प्रशासन कार्यालय चितवनले दर्ता भएका शैक्षिक परामर्श संस्थाको अन्तिम नामावली सार्वजनिक गरेको छ । सार्वजनिक लिष्ट अनुसार १ सय ४१ कन्सल्टेन्सी दर्ता भएर काम गरिरहेका उल्लेख गरिएको छ ।

‘यस कार्यालयबाट मिति २०८२।०३।०८ मा प्रकाशित सूचना बमोजिम मिति २०८२।०३।१५ गतेसम्म पेश हुन आएका निवेदनका सम्बन्धमा थप कागजात एवं कुनै संस्था छुट भएको भए मिति २०८२।०३।२२ गतेसम्म विवरण उपलब्ध गराउन भनी प्रकाशित मिति २०८२।०३।१५ गतेको सूचना बमोजिम श्री शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय र बागमती प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयबाट सञ्चालन अनुमतिको प्रक्रिया साथै कम्पनी रजिष्ट्रार दर्ता तथा व्यवसाय दर्ता गरी पेश हुन आएका तपसिल बमोजिमका संस्थाहरु मात्र दर्ता हुन आएकोले सरोकारवाला सबैको लागि यो सूचना प्रकाशित गरिएको छ ।’ आइतबार सार्वजनिक सूचनामा भनिएको छ ।

पूर्व प्रकाशित सूचनामा उल्लेखित मितिभित्र प्रक्रिया पुरा गरी निवेदन सूचिकृत हुन नआएका संस्थाहरुको विवरण संकलनको कार्य भइरहेकोले केही संस्थाहरु बन्द भइसकेको र बन्द गरिएका संस्थाहरुको विस्तृत विवरण केही दिनभित्रमा सार्वजनिक गरिने कार्यालयले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय, चितवन अनुगमन गर्ने निकाय भएकाले सूचिकृत नहुने संस्थाहरुको अन्तिम कारवाही गर्न सरोकारवाला निकायहरुमा सिफारिस भईसकेको बताइएको छ ।