एलिनाले सार्वजनिक गरिन् पूर्वपति विष्णुले कुटेर घाइते बनाएको तस्विर

शुक्रबार, २ साउन २०८२

काठमाडौँ – गायिका एलिना चौहानले पूर्वपति विष्णु सापकोटाको धम्कीपूर्ण स्टाटस् पछि आफू कुटिएको तस्विर सार्वजनिक गरेकी छन् । आफ्नो चरित्रको बचाउका लागि विगत खोतल्न बाध्य भएको बताउँदै उनले अनुहार कोतरिएको तस्विर सार्वजनिक गरेकी हुन् ।

एलिनाले स्टाटससँगै राखेको तस्विरमा अनुहार सुन्निएको र घाउचोट लागेको देखिन्छ । उनले अष्ट्रेलियामा श्रीमानबाट शारीरिक यातना भोगेको बताउँदै आएकी थिइन् ।

एलिनाले लेखेकी छिन्, ‘हामीबीचको कुरा त आपसी समझदारीमै त्यही दिन सकिएको थियो, तर समाजकै दवाव, सामाजिक सञ्जालको दुरुपयोग, र सतही धारणाले त्यो सकिएको कुरा फेरि दोहो¥याएर मेरो व्यक्तिगत जीवनमाथि गम्भीर अन्याय ग¥यो । म कानुनी प्रक्रियामा जान बाध्य भएँ । म आफ्नो चरित्रको बचाउ गर्न बाध्य भएँ । मैले मेरो विगत खोल्नुपर्यो ।’

विगतको सम्बन्धसँग आफ्नो कुनै दुश्मनी नभएको र बदला लिने सोच पनि नरहेको उनले प्रष्ट पारेकी छन् । आफ्नो लडाइँ कोही व्यक्तीसँग नभएर नारीलाई नै सँधै गलत देख्ने मानसिकतासँग भएको उनको भनाइ छ । अब आफु चुप नलाग्ने उनले बताएकी छन् ।

एलिना लेख्छिन्, ‘अब यो केवल मेरो न्यायको लडाइँ होइन, यो हरेक नेपाली चेलीको आवाज हो । म हरेक कानुनी, सामाजिक र नैतिक बाटो अपनाएर न्यायका लागि अगाडि बढ्नेछु । किनकि म एक्लो भए पनि, सत्य मेरो साथमा छ ।’