दुर्गा प्रसाईंलाई रिहा गर्न उच्च अदालत पाटनको आदेश

सोमबार, १९ साउन २०८२

काठमाडौँ – मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्न उच्च अदालत पाटनले आदेश गरेको छ । सोमबार मुख्य न्यायाधीश सुदर्शनदेव भट्ट र न्यायाधीश मुनेन्द्रप्रसाद अवस्थीको वाणिज्य इजलासले उक्त आदेश जारी गरेको हो ।

प्रसाईंलाई बैंकिङ कसुर मुद्दामा २५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो । १८ करोड ४४ लाख रुपैयाँ बिगो दाबी गरिएको कर्जा अपचलनसम्बन्धी मुद्दामा थुनछेक बहसपछि अदालतले यस्तो आदेश दिएको हो ।

अदालतले तत्काल प्राप्त प्रमाणका आधारमा प्रसाईंलाई निर्दोष भन्न नसकिने तर उनी क्यान्सर रोगबाट पीडित रहेको प्रमाणलाई समेत आधार मान्दै धरौटीमा छाड्न आदेश दिएको हो । अदालतले १५ चैतमा भएको राजावादी आन्दोलनसँग जोडिएको मुद्दा र बैंकिङ कसुर दुवैमा उनलाई धरौटीमा छाड्न आदेश भएको हो ।

उच्च अदालत, पाटनले आजै (सोमबार) उनलाई १५ चैतमा भएको हिंसात्मक प्रदर्शनसँग जोडिएको मुद्दामा समेत उनलाई धरौटीमा छाड्न आदेश दिएको छ । उनीविरुद्ध राज्यविरुद्धको कसुर, कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र आपराधिक उपद्रवमा जिल्ला अदालत, काठमाडौंमा मुद्दा दर्ता भएको थियो ।

काठमाडौं अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । त्यसपछि प्रसाईं डिल्लीबजार कारागारमा थिए । त्यहीबीच उनले जिल्लाको आदेशविरुद्ध उच्च अदालतमा निवेदन दिएका थिए । उच्च अदालतका न्यायाधीश टंकप्रसाद गुरुङ र डिल्लीरत्न श्रेष्ठको इजलासले उनलाई ३ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको छ । यो आदेशको विस्तृत विवरण आइसकेको छैन ।

झापाको बिर्तामोड नगरपालिका–५ का ५४ वर्षीय प्रसाईं राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानको संयोजकका रुपमा प्रदर्शनमा सहभागी थिए । उनकै योजनामा १५ चैतमा हिंसात्मक प्रदर्शन भएको प्रहरी दाबी थियो ।

प्रहरीको दाबीमा, उनले उच्छृंखल अभिव्यक्ति दिएर भिडलाई उत्तेजित पार्ने, निषेधित क्षेत्र तोड्न लगाउने, आफैं सुरक्षाकर्मीलाई ज्यान मार्ने उद्देश्यले गाडीले पेल्ने प्रयास गरेका थिए । प्रहरीले उनलाई भारतबाट पक्राउ गरेर काठमाडौं ल्याएको थियो ।