एनएमबि बैंकले दियो प्रहरीलाई उद्दार सामग्री

मंगलबार, २० साउन २०८२

काठमाडौँ – मनसुनको मौसम र यसमा देखिने अस्थिरता तथा सम्भावित जोखिमलाई मध्यनजर गदै, एनएमवि बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत एउटा १६ फिटको सेल्फ–बेलिङ राफ्ट, लाइफ ज्याकेटहरु र अन्य विपद् उद्दार सामग्रीहरु नेपाल प्रहरीलाई हस्तान्तरण गरेको छ ।

बैंकले मंगलवार काठमाडौंको रानीपोखरी स्थित, काठमाडौं उपत्यका प्रहरी कार्यालयमा एक कार्यक्रम बिच उक्त सामाग्रीहरु हस्तान्तरण गरेको हो । एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरेले काठमाडौं उपत्यका प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङलाई औपचारिक रूपमा ती उद्दार सामग्रीहरू हस्तान्तरण गरेका थिए ।

उक्त कार्यक्रममा हस्तान्तरण गरिएका सामग्रीहरूमा रबर बोटसहित लाइफ ज्याकेटहरु र अन्य आपतकालीन उपयोगी उपकरणहरू समावेश छन्। मनसुनको समयमा बाढी, डुबान तथा अन्य जलजन्य विपद् तथा आकस्मिक घटनाहरूको सम्भावना उच्च हुने भएकाले यस किसिमको सहयोगले प्रहरीको कार्यक्षमतामा सहयोग पुग्ने अपेक्षा बैंकले राखेको छ।

एनएमबि बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ्य, वातावरण तथा विपद् व्यवस्थापन जस्ता विभिन्न क्षेत्रहरूमा निरन्तर योगदान पुर्याउदै आईरहेको छ । यस प्रकारको सहयोगले समुदायमा बैंकको प्रतिबद्धता झल्काउने विश्वास बैंकको रहेकोछ ।

एनएमबि बैंकले हाल देशभरी २०२ शाखाहरु, १८७ एटिएमहरु र ९ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।