घुर्ने समस्या बन्न सक्छ घातक

मंगलबार, ३ भाद्र २०८२

काठमाडौं — हामी मध्ये कतिपयमा सुत्दा घुर्ने समस्या हुन्छ । प्रायको घरमा एक न एकजना घुर्ने व्यक्ति हुन्छन् ।

धेरैलाई लाग्छ, यो एउटा बानी मात्र हो । अनि, यसरी घुर्नुको बेफाइदा अरूलाई सुत्न डिस्टर्ब गर्नु मात्रै हो ।

तर, घुर्नु एक स्वास्थ्य समस्या रहेको विज्ञहरू बताउँछन् । घुर्ने बानीले कतिपय अवस्थामा गम्भीर स्वास्थ्य समस्या निम्त्याउन सक्ने चिकित्सकहरुले बताएका छन् ।

घुर्ने समस्या किन हुन्छ ? यो कस्तो समस्या हो ? कस्ता व्यक्ति बढी घुर्छन् ?

सुत्दा घुर्नुलाई हामीले सामान्य बानी मात्रै मान्छौं ।

हामीलाई सामान्य लागे पनि घुर्ने बानी गम्भीर स्वास्थ्य समस्या हुन सक्छ । यो आफूलाई थाहा नहुने तर भित्रभित्रै मन र शरीरको भागहरू बिगार्न सक्ने समस्या हो ।

घुरेका बेला व्यक्तिको सुताइको प्रकृति भिन्न खालको हुन्छ । व्यक्ति भित्रभित्रै छट्पटिरहेको हुन्छ । तर आफूलाई थाहा हुँदैन । घुर्दा नाक बन्द भई मुखबाट सास फेरिन्छ ।

यसरी मुखबाट सास फेर्दा कहिलेकाहीँ नाक पूरै बन्द भई सास रोकिने अवस्था आउनसक्छ । एकैछिन सास रोकिए पछि झसंग ब्यूँझिन्छ । यो अवस्थालाई चिकित्सकीय भाषामा ‘अब्स्ट्रक्टिभ स्लिप एप्निया’ भन्ने गरिन्छ ।

यस्तो किन हुन्छ ? मुख्य कारण के हो ?

यो समस्या मुख्यतया दुई कारणले हुन्छ । एउटा मस्तिष्कसँग सम्बन्धित ‘सेन्ट्रल’ कारण हो भने अर्को नाक, घाँटी र श्वासनलीमा कुनै अवरोध भएर हुने ‘पेरिफेरल’ कारण हो । पेरिफेरल कारणमा एउटा न्याजल क्याभिटी भित्र हुन्छ । नाकको दायाँ र बायाँ प्वालको भित्रपट्टी केही समस्या भयो भने हुन्छ ।

अर्को नाकको पछाडिको भागमा ‘न्याजोफेरिङ्स’ हुन्छ । त्यसमा मासु पलायो वा केही समस्या भयो भने पनि घुर्ने हुनसक्छ । अर्को जिब्रोको फेद र टन्सिलको एरियामा ‘ओरोफेरिङ्स’ भन्ने हुन्छ । त्यसमा केही अवरोध हुँदा पनि सुत्दा घुर्ने हुन्छ ।

श्वासनलीको मुख ल्यारिङ्स वा भोकल कर्ड भनिन्छ । कुनै कारणवश यसमा अवरोध आएमा पनि यस्तो समस्या हुनसक्छ । नाकको दुलोभित्र सानो मासुको डल्लो हुन्छ । त्यो भाग ठूलो भएको हुनसक्छ ।

अर्को नाकमा हुने एलर्जीको कारणले पनि हुनसक्छ । नाकको एलर्जीको कारण नाकमा मासु पलाउन सक्छ । जसले वायुमार्ग बन्द गर्न सक्छ ।

घुर्ने समस्या भएकाहरू आफूले घुरेको थाहै पाउँदैनन् । अनि यसलाई समस्या नठान्ने कारण अस्पताल जाने वा चिकित्सकलाई भेट्नेबारे सोच्दैनन् ।

यस्तोमा के गर्ने ?

घुर्ने मान्छेलाई आफू घुर्छु भन्ने थाहा हुँदैन । घुर्दाघुर्दै छिनछिनमा निद्रा बिग्रेको पनि थाहा हुँदैन । यस्तोमा उनीहरू अस्पताल जान मन गर्दैनन् ।

उनीहरूमा बिहान उठ्दा यसका विभिन्न लक्षण देखिए पनि घुर्ने समस्याकै कारण भनेर थाहा हुँदैन । अनि अवस्था गम्भीर भएपछि मात्र अस्पताल पुग्छन् । यो ठूलो चुनौती बनेको छ । यसका लागि सचेतना फैलाउन आवश्यक छ ।

घुर्ने बानी भएका व्यक्तिमा कस्ता लक्षण देखिन्छन् ?

यस्तो समस्या भएका व्यक्तिहरू बिहान उठ्दा मुख सुख्खा भएको महसुस गर्छन्, घाँटी दुख्छ, ताजगी महसुस हुँदैन । धेरैजसोको आँखा सुन्निएको, थाकेको देखिन्छ । दिनभर निद्रा लाग्ने, विशेषगरी खाना खाइसकेपछि सुत्न मन लाग्ने लक्षण देखिन्छ । यस्तो अवस्था ‘एक्सेसिभ डे टाइम स्लीपिनेस’ हो ।

घुर्ने समस्या कतिबेला गम्भीर बन्न सक्छ ?

रातभरि घुर्दा सामान्य अवस्थामा जस्तो शरीर अक्सिजन प्रवेश गर्न पाउँदैन । शरीरलाई अक्सिजनको मात्रा कमी हुन सक्छ । अनि अक्सिजनको कमी भयो भने शरीरमा कार्बन डाइअक्साइड बढ्न सक्छ ।

त्यो बढेको कार्बन डाइअक्साइडले मुटुलाई पनि असर गर्न सक्छ । अनि रातभरि निन्द्रा डिस्टर्ब भएको मान्छेले बिहान गएर आफ्नो कर्मथलोमा काम पनि त एकदम सक्रिय भएर गर्न सक्दैन ।

कहिलेकाहीँ रातको समयमा निद्रामै सास रोकिने कारणले ज्यान जान सक्ने अवस्था पनि आउँछ । राति सुत्दा सुतेको सुत्यै भएको समाचार पनि हामीले पढ्छौं, सुन्छौं । उनीहरुको पृष्ठभूमि अध्ययन गर्दा असाध्यै घुर्ने बानी रहेको सुन्न पाइन्छ।

यस्तो समस्या कस्ता व्यक्तिमा बढी देखिन्छ ?

मोटोपन मुख्य कारण हो । मोटा व्यक्ति, ठूलो घाटी भएका, गाला फुलेका, भुँडी ठूलो भएका मानिसमा बढी देखिन्छ । तर, कहिलेकाहीँ पातला व्यक्तिमा पनि यो समस्या देखिन्छ, खासगरी सेन्ट्रल कारणका आधारमा । बच्चाहरूमा एडेनोइड ग्रन्थी ठूलो हुँदा पनि यस्तो समस्या देखिन्छ ।