ट्रम्पले विपिन जोशीसहित हमासले बन्दक बनाएका २० जना जिवित छैनन् भनेपछि…
काठमाडौँ – नेपाली विद्यार्थी विपिन जोशीसहित हमासले बन्दक बनाएका २० जना जिवित छैनन् भन्ने अमेरिका राष्ट्रपति डोनाल्र्ड ट्रम्पको भनाईप्रति इजरायलले आपत्ति जनाएको छ । उनले हमासद्वारा बन्धक बनाइएका व्यक्तिहरू र त्यसबारे भएको वार्तालापको सन्दर्भमा हमासले ब्ल्याकमेलिङ गरेको आरोप लगाउँदै २० जनामध्ये केहीमात्र जिवित रहेको बताएका थिए ।
राष्ट्रपति ट्रम्पको टिप्पणीपछि बन्धक र बेपत्ताका परिवारहरूको मञ्च तथा इजरायल सरकारले जीवित बन्धकहरूको सङ्ख्यामा कुनै परिवर्तन नभएको जनाएको छ । शुक्रबार ओभल अफिसमा आयोजित पत्रकार सम्मेलनमा उनको यो भनाइले बन्धकका परिवारहरूमा गहिरो निराशा पैदा गरेको छ भने इजरायलका बन्धक समन्वय अधिकारीले यस दाबीलाई अस्वीकार गरेका छन् ।
‘उनीहरूले भनेअनुसार अब २० जना छन्ु, ट्रम्पले भने, ‘तर त्यो २० वास्तवमा सायद २० होइन, किनभने तीमध्ये केही अब बाँकी छैनन् ।’ उनले २० भन्दा कम बन्धक जीवित छन् भन्ने आफ्नो दाबीबारे धेरै बोलेनन् । त्यसपछि भने, ‘हामी बन्धकहरूलाई मुक्त गर्न सक्दो प्रयास गरिरहेका छौं, यो सजिलो काम होइन ।’
उनले हमासद्वारा बन्धक बनाइएका व्यक्तिहरू र त्यसबारे भएको वार्तालापको सन्दर्भमा भने, ‘यो स्थिति अन्त्य हुनैपर्छ, यो ब्ल्याकमेलिङ हो र यसलाई अन्त्य गर्नुपर्छ ।’ हमाससँग सम्झौताबाट नभएर सैनिक कारबाहीमार्फत बन्धकहरूलाई मुक्त गर्नु धेरै तरिकाले सुरक्षित हुने पनि उनले बताए ।
राष्ट्रपति ट्रम्पको टिप्पणीपछि बन्धक र बेपत्ताका परिवारहरूको मञ्चले विज्ञप्ति जारी गर्दै भन्यो, ‘राष्ट्रपतिज्यू, त्यहाँ ५० बन्धकहरू छन् । हाम्रा लागि, हरेक बन्धक आफ्नो एक पृथक संसार हो ।’ ट्रम्पको दाबीलाई घुमाउरो पारामा खण्डन गर्दै इजरायल सरकारका बन्धक समन्वय प्रमुख गल हिर्शले आफूसँग भएको जानकारीअनुसार, जीवित बन्धकहरूको सङ्ख्यामा कुनै परिवर्तन नभएको बताएका छन् ।
‘बन्धकमध्ये २० जना जीवित छन्, अन्य २ जनाको जीवन ठूलो जोखिममा छ, २८ जना अब जीवित छैनन् र उनीहरूलाई मृत घोषित गरिएको छ,’ हिर्शले परिवारहरूलाई सम्बोधन गर्दै भनेका छन् । इजरायलले लामो समयदेखि गाजामा हमासले ५० बन्धकहरू नियन्त्रणमा राखेको बताउँदै आएको छ, जसमा ७ अक्टोबर २०२३ मा हमासले अपहरण गरेका २ सय ५१ मध्ये ४९ जना समावेश छन् ।
यसमा आईडीएफले पुष्टि गरेको कम्तीमा २८ मृतकको शव पनि छन् । २० जना जीवित रहेको विश्वास गरिएको छ भने अन्य २ जनाको स्वास्थ्य र सुरक्षामा गम्भीर चिन्ता व्यक्त गरिएको इजरायली अधिकारीहरूले बताएका छन् । हमाससँग सन् २०१४ मा गाजामा मारिएका एक आईडीएफ सैनिकको शव पनि रहेको छ ।