उच्चस्तरीय जाँचबुझ आयोगको अनुसन्धानको सियो देउवा दम्पती तिर सोझियो
काठमाडौँ – पद, सत्ता र शक्तिको दुरुपयोग गरी ‘जेनजी आन्दोलन’ दमन गर्नेहरूमाथि अनुसन्धान गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा तथा तत्कालीन परराष्ट्रमन्त्री आरजु राणा देउवाको सुरक्षामा खटिएका सुरक्षाकर्मीसँग पनि बयान लिने भएको छ । पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले देउवाको निवास र व्यक्तिगत सुरक्षामा खटिएको प्रहरीसँग वयान लिने भएको हो ।
आयोगले भदौ २३ र २४ गते अन्दोलनका क्रममा भएको जनधनको क्षतिको विवरण संकलन गरी कानुनी कारबाहीको सिफारिश गर्नेछ। आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले नेपालखबरसँगको कुराकानीमा अनुसन्धान गहिराइतर्फ गइरहेको भन्दै पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा तथा तत्कालीन परराष्ट्रमन्त्री आरजु राणा देउवाको सुरक्षामा गत भदौ २३ र २४ गते खटिएका सुरक्षाकर्मीसँग बयान लिने प्रयास भइरहेको जानकारी दिए।
सेनाको भूमिकाको विषयमा समेत आयोगले जवाफ खोजेको छ। आयोगले त्यो दिन संसद् भवन, राष्ट्रपति भवनसहितका ठाउँमा परिचालन भएका सेनासँग बयान गर्न सैनिक हेडक्वाटरलाई पत्र काटेको छ। भदौ २४ गतेको दिन सिंहदरबारको सुरक्षाका लागि त्यहाँ सेनाको नरसिंहदल गण थियो। एउटा गणमा पाँच सयदेखि एक हजार जनासम्म सेना हुन्छन्। भदौ २४ गते बिहान ८:३० बजेदेखि काठमाडौंमा कर्फ्यु लागेको थियो। त्यसपछि बिहान ११ बजेतिर सेना सडकमा देखिएको थियो।
सिंहदरबार दनदनी जलिरहँदा, आफ्नै परमाधिपति राष्ट्रपतिको कार्यालय जलिरहँदा सुरक्षाकै जिम्मेवारी पाएको सेना के हेरिरहेको थियोरु घटनाको सत्यतथ्य उजागर गर्न सेनाको छानबिन गर्नुपर्ने निष्कर्षमा आयोग पुगेको हो। आयोगले पत्र काटेको दुई साता बितिसक्दा पनि जंगीअड्डाले जवाफ दिएको छैन।
देउवा दम्पत्तिको सुरक्षामा नेपाली सेना, प्रहरीको टोली खटिएको थियो। अध्यक्ष कार्कीले नेपालखबरसँग भने, ‘अति विशिष्ट व्यक्तिहरूको सुरक्षा मापदण्ड अलि फरक हुने रहेछ। भदौ २४ गते पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र तत्कालीन परराष्ट्रमन्त्री आरजु राणा देउवाको सुरक्षामा को-को थिए भनेर नाम सूची पठाइदिन भनेर पत्राचार गरेका छौँ। त्यो नामावली अहिलेसम्म आयोगले पाएको छैन।’
राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुखले अति विशिष्ट सुरक्षा पाउँछन्। शक्तिशाली पूर्वप्रधानमन्त्रीले पनि यस्तो सुविधा लिने गरेका छन्। उनीहरूको सुरक्षाका लागि नेपाली सेनासहित तीन वटै सुरक्षा अंगका सुरक्षाकर्मी खटिन्छन्। आयोगले पत्राचार गरे पनि सुरक्षा अंगहरूले देउवाको सुरक्षामा खटिएका व्यक्तिहरूको विवरण उपलब्ध गराएको छैन।
भदौ २४ मा प्रदर्शनकारीहरू बुढानिलकण्ठस्थित देउवा निवासको पर्खाल र गेट भत्काएर भित्र प्रवेश गरेका थिए। धक्कामुक्की र कुटपिटपछि प्रदर्शनकारीले देउवाका एक अंगरक्षकलाई अर्धनग्न बनाएका थिए।