एमाले नेताको घरमै पुगेर आगो लगाइदिने जेनजी अभियान्ता सुदन गुरुङको धम्की : नेकपा एमाले नेता किसान श्रेष्ठले जनाए आपत्ति

शनिबार, ६ मंसिर २०८२

काठमाडौं—जेन–जी आन्दोलनका अगुवा सुदन गुरुङले आफ्नो घर पुनः जलाउने धम्की दिएको भन्दै विघटित प्रतिनिधिसभाका सदस्य तथा नेकपा एमाले नेता किसान श्रेष्ठले कडा आपत्ति जनाएका छन्।

श्रेष्ठले शनिबार एक विज्ञप्ति जारी गर्दै आफू काठमाडौंमा रहेका बेला बाराको सिमरा–औराहा स्थित आफ्नै घरमा पुगेका गुरुङ र उनीसँगका व्यक्तिहरूले पुनर्निर्माणमा खटिएका कामदारलाई धम्क्याएको आरोप लगाए।

“२४ गते घर जलाइएपछि सुरू गरिएको पुनर्निर्माणमा संलग्न कर्मचारी र कामदारलाई सुदन गुरुङले घर फेरि जलाउँछु भनेर धम्की दिएको छ। साथै ‘तेरो नेतालाई जे पनि हुन सक्छ’ भन्ने जस्तो डर त्रास फैलाउने शैलीमा बोलिएको घटनाको घोर भर्त्सना गर्दछु,” श्रेष्ठले विज्ञप्तिमा उल्लेख गरेका छन्।

श्रेष्ठका अनुसार, जेन–जीको नाममा भइरहेको यस्तो गतिविधिले सर्वसाधारणमाथि भय वातावरण सिर्जना गरेको छ। उनले राज्यलाई तत्काल शान्ति–सुरक्षाको प्रत्याभूति दिन र आतंकपूर्ण कार्य थुनेर नियन्त्रणमा लिन आग्रह गरेका छन्।

यससँगै उनले सिमरामा ३ र ४ गते भएको भिडन्तमा घाइते भएका सबैको शीघ्र स्वास्थ्यलाभको कामना पनि व्यक्त गरेका छन्।