कांग्रेसमा फेरि रडाको, पाटी फुटाउने दाउमा गगन थापा
काठमाडौं – बल्लतल्ल केन्द्रीय समिति बैठक सम्पन्न गरेर फर्किएको नेपाली कांग्रेसमा अर्को रडाको मच्चिएको छ । कांग्रेसको महाधिवेशन निर्वाचन अगाडि कि पछाडि भन्ने विवादलाई थाति राखेर बैठक सकाएको कांग्रेसले निर्वाचन आयोगमा दल दर्तापछि रडाको मच्चिएको हो ।
माघ ११ को राष्ट्रियसभा र फागुन २१ को प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा सभापति शेरबहादुर देउवाकै नाम र हस्ताक्षर राखेर दल दर्ता भएपछि कांग्रेसभित्र महाधिवेशनको विवाद झनै चुलिएको छ । कांग्रेस महामन्त्री गगन थापाले भने निर्वाचन अगाडि नै महाधिवेशन गरेर नयाँ नेतृत्वमा चुनाव लड्ने बताए ।
आइतबार निर्वाचन आयोगमा देउवाकै नाम पठाउनुको अर्थ हो, आगामी प्रतिनिधिसभा निर्वाचनमा आफ्नै हस्ताक्षरबाट टिकट वितरण गर्नु हो । निर्वाचन अगाडि विशेष वा नियमित महाधिवेशन हुन सकेन भने देउवाले नै टिकट वितरण गर्नेछन् । त्यसो त देउवाले २८ असोजमै उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएर सक्रिय राजनीतिबाट अलग हुने सन्देश दिए पनि आयोगको हस्ताक्षरमा सभापतिकै नाम छ । तर, महामन्त्री थापाले भने नियमित नभएमा विशेष महाधिवेशनबाट पनि नेतृत्व परिवर्तन हुने उल्लेख गरेका छन् ।
संस्थापन पक्षका पूर्वपदाधिकारीसहित बहुमत सदस्य निर्वाचनअगाडि कुनै पनि हालतमा महाधिवेशन गर्न नहुने अडानमै छन् । निर्वाचन आयोगमा देउवाको नाम गएपछि सभापति आपैmले अधिवेशन नचाहेको र आपैmले टिकट बाँड्न चाहेको विषयमा महामन्त्री थापाले भनेका छन, ‘यही कारण हो, हामीले निर्वाचनअगाडि नै महाधिवेशन भनेको । अब विशेष महाधिवेशनको विकल्प छैन । कुरा स्पष्ट छ । अलमलमा नपरौं ।’ थापाले कार्यकर्तालाई फकाउँदै फेसबुकमा लेखेका छन् ।
भित्रभित्रै पुसभित्र विशेष महाधिवेशन नभए पार्टी फुटाएरै भएपनि आगामी निर्वाचनमा होमिने गगनको योजना छ । ‘गगनलाई आगामी निर्वाचनपछि जसरी पनि प्रधानमन्त्री बन्नु छ । त्यही भएर उनी की विशेष महाधिवेशनबाट सभापति भएर संसदीय दलको नेता बन्न खोज्ने छन् ।’, उनी निकट श्रोतले भन्यो, ‘यदी यो भएन भने पार्टी फुटाएरै भएपनि चुनावमा जाने र प्रधानमन्त्री बन्ने बाटो बनाउने योजना छ ।’
अहिलेकै अवस्थामा देउवा शक्तिमा रहिराखे गगनको कांग्रेस संसदीय दलको नेता बन्ने सपना चकनाचुर हुनेछ । उनी निकटका नेताले टिकट नपाउँदा संसदीय दलका गाह्रो पर्ने छ ।