एमाले अध्यक्ष केपि शर्मा ओलीलाई झट्का
काठमाडौं— निर्वाचन आयोगमा दल दर्ता गरेकै दिन एमाले अध्यक्ष केपि शर्मा ओलीलाई झट्का लागेको छ ।
एमालेको ११औं महाधिवेशनबाट सर्वसम्मत् अध्यक्ष बन्ने ओलीको सपना वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले चकनाचुर पारिदिएपछि झट्का लागेको हो ।
अध्यक्षको उम्मेदवारी घोषणा गरेका पोखरेललाई उपाध्यक्षहरु सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सचिवहरु गोर्कण विष्ट, योगश भट्टराई, गोकुल बाँस्कोटा, कर्ण थापा लगायतका नेताले साथ दिएका छन् ।
पोखरेलले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई अभिभावकीय भूमिकामार्फत् निकास दिन पनि आग्रह गरेका छन् ।
पार्टी निर्माण सम्बन्धी माथि उल्लेखित विचारको आधारमा ११औं राष्ट्रिय महाधिवेशनमा पार्टी अध्यक्ष पदको उम्मेदवारको रुपमा प्रस्तुत हुने निष्कर्षमा पुगेको छु’, पोखरेलले भनेका छन्, ‘पार्टी पुनर्गठन र रुपान्तरणका लागि देशभरीका साथीहरुले गर्नुभएको आग्रह र सुझावलाई स्वीकार गरेर अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको हुँ।’
देशभरका जिल्लामा महाधिवेशन प्रतिनिधि छनोटको तयारी चलिरहेकोमा सबैलाई विवेक पुर्याउन पनि पोखरेलको आग्रह छ । उनले थपेका छन्, ‘यो ऐतिहासिक जिम्मेवारीलाई सबैले मनन गरौँ, आन्तरिक लोकतन्त्र समृद्ध भएको पार्टीले मात्र लोकतान्त्रिक समाजको निर्माण र नेतृत्व गर्नसक्छ ।’