रवि लामिछानेको रास्वपा र कुलमान घिसिङको उज्यालो नेपाल पार्टीबीच एकता हुने निश्चित
काठमाडौं— रवि लामिछानेको रास्वपा र कुलमान घिसिङको उज्यालो नेपाल पार्टीबीच एकता हुने निश्चित भएको छ ।
रविलाई पार्टी सभापति र कुलमानलाई भविष्यको प्रधानमन्त्रीको उम्मेदवार बनाएर पार्टी एकता गर्न लागिएको रास्वपाका नेताहरुले जनाएका छन् ।
दुई पार्टीको एकता पछि बालेन शाहको टिमसम्म यो पार्टीसँग जोडिनेगरी छलफल चलेको बताइएको छ । पुराना दललाई चुनौती दिन ‘ब्रेकथ्रु’ प्रयास अन्तिम चरणमा रहको श्रोतको भनाई छ ।
फागुन २१ गते तय भएको प्रतिनिधिसभा निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को नेतृत्वमा वैकल्पिक शक्ति निर्माण गर्न ‘होमवर्क’ थालिएको छ ।
रास्वपाले नयाँ र वैकल्पिक राजनीतिक शक्तिसँग एकता र सहकार्यलाई उच्च प्राथमिकतामा राख्दै सोहीअनुसार छलफल थालेको हो ।
रास्वपाका महामन्त्री कवीन्द्र बुर्लाकोटीले कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टी, विवेकशील साझा पार्टीसहित आयोगमा दर्ता भएका १२ दलसँग घनिभूत छलफल भइरहेको बताए । यस्तै जेनजीका विभिन्न समूहसँग पनि वैकल्पिक शक्ति निर्वाचनका लागि छलफल चलिरहेको जानकारी दिँदै छिट्टै निकास निस्कने विश्वास व्यक्त गरे ।
रास्वपाको मंगलबार बसेको सचिवालय बैठकमा राजनीतिक संवाद समितिका संयोजक समेत रहेका उपसभापति डा. स्वर्णिम वाग्लेले यस सम्बन्धमा हालसम्म भएका प्रगति विवरण पेस गरेका थिए । वाग्लेले पेस गरेको प्रस्तावका आधारमा सचिवालयले आवश्यक सहजीकरण गर्ने निर्णय गरेको महामन्त्री बुर्लाकोटीले जानकारी दिए ।
जेनजी विद्रोहमा नैतिक समर्थन गर्ने बाहेक सबै प्रतिगामी शक्तिलाई निर्वाचनबाटै परास्त गर्नेगरी पार्टीले सबै वैकल्पिक शक्तिसँग एकता र सहकार्य गर्ने निर्णय गरेको छ’, उनले भने, ‘यस विषयमा राजनीतिक संवाद समितिले निर्वाचन अयोगमा दर्ता भएका नयाँ दलहरूसँग छलफल जारी राखेको छ ।’ सबै पक्षसँग छलफल गरेर पुसको पहिलो हप्तासम्म निर्णयमा पुग्नेगरी अघि बढिएको उनको भनाइ थियो ।
बुर्लाकोटीले चुनावी गठबन्धन वा सहकार्य गरेर जाने विषयमा काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह समूह, जेनजी अभियन्ता सुदन गुरुङ समूहसँग सकारात्मक छलफल भएको छ । यस्तै कुलमान घिसिङ संरक्षक रहेको पार्टीसँग पनि संवाद सकारात्मक ढङ्गले अघि बढेको उनको भनाइ थियो ।
यस्तै उज्यालो नेपाल पार्टीका प्रवक्ता राजु थापाले पनि रास्वपासँग तालमेल वा सहकार्यका लागि विभिन्न चरणमा छलफल भइसकेको पुष्टि गरे । ‘हामी रास्वपासँग छलफलमा छौँ । एकता वा तालमेल गरेर जानेबारे सकारात्मक ढङ्गले कुरा अघि बढेको छ’, उनले भने । उनले अन्य पार्टी वा समूहसँग समेत तालमेल वा एकताबारे छलफल चलिरहेको समेत बताए ।