प्रमाण नपुगेको भन्दै पूर्वसभामुख कृष्णबहादुर महरालाई अदालतले गर्‍यो रिहा

बिहिबार, ११ मंसिर २०८२

काठमाडौं—प्रमाण नभेटिएको भन्दै पाटन उच्च अदालतले पूर्वसभामुख कृष्णबहादुर महरालाई छोडेको छ ।

प्रमाण संकलन नगरी अभियोग दर्ता गरिएको भन्दै उच्च अदालत पाटनका न्यायाधीश अर्जुनप्रसाद कोइराला र तेजेन्द्रप्रसाद शर्मा सापकोटाको संयुक्त इजलासले महरालाई २० लाख धरौटीमा छोड्न आदेश दिएको हो ।

मूल जाहेरीमा, पहिलो पुरक अभियोगमा नाम नभएको र अरु अभियुक्तले पनि नपोलेकाले छोड्ने अदालतले आदेश दिएको हो ।

पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करीको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका थिए ।

उच्च अदालत पाटनका न्यायाधीशद्वय अर्जुनप्रसाद कोइराला र तेजेन्द्रप्रसाद शर्मा सापकोटाको इजलासले महरालाई धरौटीमा छाड्न आदेश दिँदै उक्त व्यख्या गरेको हो ।

महरालाई २० लाख धरौटीमा छाड्न आदेश दिँदै अदालतले भनेको छ, ‘मूल जाहेरीमा महराको नामै छैन । पहिलो पुरक अभियोगमा पनि उनीबारे केही उल्लेख छैन । अरु अभियुक्तले पनि पोल गरेको देखिँदैन ।’

चोरी पैठारी भएको भनिएको सुन समेत बरामद नभएको र अहिले पेश भएको पूरक अभियोगमा कुनै थप प्रमाण संकलन नगरी मुद्दा चलाएको भन्दै केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को अनुसन्धानमै अदालतले प्रश्न उठाएको छ ।

मूल अभियोग र पहिलो पुरक अभियोगको समेत प्रमाणहरुको विश्लेषण गरी फैसला भइसकेको, बयान तथा प्रमाणले समेत उनलाई तत्काल थुनामा राख्न पर्ने कुनै कारण नदेखिएको उल्लेख उच्चले गरेको छ ।