ट्रम्पको निशानामा अमेरिकालाई माया नगर्ने विदेशी

शनिबार, १३ मंसिर २०८२

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तेस्रो विश्वका देशहरूबाट आउने शरणार्थीहरूलाई सधैँका लागि रोक्ने बताएका छन् । अमेरिकालाई फेरि महान बनाउन यो निर्णय गर्नुपरेको ट्रम्पको तर्क छ ।

सामान्यतया तेस्रो विश्व अफ्रिका, एशिया, ल्याटिन अमेरिका र मध्यपूर्वका कम आय वा तल्लो–मध्यम आय वर्ग रहेका देशहरू रहने सूची हो, जसको कुनै कानुनी मान्यता भने छैन । वासिङ्टन डीसीमा २ जना नेसनल गार्ड्सको मृत्युपछि ट्रम्पले बिहीबार यो घोषणा गरेका हुन् । उनले यस हमलालाई शरणार्थीसँग जोडेर व्याख्या गरे।

ट्रम्पले अध्यागमन नीतिका कारण देशका मानिसहरूको जीवन झन् खराब भएको बताए। ट्रम्पले अमेरिकालाई माया नगर्ने विदेशलाई प्रवेशसमेत नदिने बताउँदै यदी कोही अमेरिका छिरेको भए उसलाई पनि देश निकाला गरिने घोषणा गरेका छन् ।

‘जो मानिसहरू अमेरिकाका लागि फाइदाजनक छैनन् वा जो हाम्रो देशलाई साँचो माया गर्दैनन्, उनीहरूलाई पनि हटाइनेछ।’ ट्रम्पले अध्यागमन नीतिलाई अझ कडा गर्ने प्रतिबद्धता व्यक्त गर्दै भनेका थिए । ट्रम्प प्रशासनले बिहीबार १९ देशबाट आएका प्रवासीहरूको कडा जाँच गरिने घोषणा गरेको थियो।