गाउँपालिकाले आफ्नै स्रोतमा चलाउँदै दुईवटा अस्पताल

सोमबार, १५ मंसिर २०८२

काठमाडौं— रामेछापको एउटा दुर्गमको गाउँपालिकाले आफ्नै खर्चमा अस्पताल सञ्चालनगर्दै आएको छ । त्यो पनि एउटा होइन दुई–दुईवटा ।
रामेछापको एक मात्र हिमाली गाउँपालिका उमाकुण्डले नागरिकलाई गाउँमा नै गुणस्तरीय स्वास्थ्य सेवादिन दुईवटा अस्पताल सञ्चालन गरेको छ । गाउँपालिकाको केन्द्र प्रीति र वडा नं २ को बाम्तिमा अस्पतालहरू सञ्चालनमा छन् ।

गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवारका अनुसार बाम्तिमा १५ शैय्याको अस्पताल सञ्चालनमा छ । त्यस्तै गाउँपालिकाको केन्द्र प्रीतिमा रहेको अस्पताल भने ५ शैय्याको रहको छ ।

दुवै अस्पतालको लागि संघीय सरकारले स्वास्थ्य चौकी तहका स्वास्थ्य कर्मीको दरबन्दी दिएको छ । बाँकी सबै जनशक्ति तथा उपकरण गाउँपालिकाले नै व्यवस्थापन गरेर अस्पतालहरू सञ्चालन गरेको गाउँपालिका अध्यक्ष शेरवहादुर सुनुवारले जानकारी दिए ।

भौगोलिक हिसाबले विकट उमाकुण्ड गाउँपालिकाको वडा नं १ गुम्देलका स्थानीयलाई गाउँपालिकाको केन्द्र प्रीति आइपुग्न पनि चार घण्टा लाग्छ । जिल्ला सदरमुकाम मन्थली पुग्न त उनीहरूलाई दिनभरि लाग्छ ।

त्यसैले आधारभूत तहको स्वास्थ्य सेवागाउँमा नै पाउन सकुन् भनि गाउँपालिकाले दुई ठाउँमा अस्पताल सञ्चालन गरेको हो ।

गुम्देल, बाम्ति, कुभुकास्थली लगायतका नागरिकलाई लक्षित गरी बाम्तिमा अस्पताल सञ्चालन गरिएको छ । त्यस्तै प्रीतिका दुईवटा वडा तथा गुम्तेश्वर र भूजी कानागरिकलाई लक्षित गरी प्रीतिमा अस्पताल सञ्चालन गरिएको सुनुवारले बताए ।

गाउँपालिकाकै स्रोतबाट दुईवटा अस्पताल सञ्चालनगर्दा निक्कै व्ययभार पर्ने भएपनि नागरिक स्वास्थ्यलाई ध्यानमा राखेर दुईवटा अस्पताल सञ्चालन गरिएको सुनुवारले जानकारी दिए । ‘असाध्यै खर्चिलो छ, डाक्टरहरू राख्नै गाह्रो छ, तै पनि नागरिकको स्वास्थ्यमा खेलबाड गर्ने कुरा भएन, अन्य धेरै योजनाहरू कटौती गरेर भएपनि अस्पताल सञ्चालन गरेका छौँ’, सुनुवारले भने ।

स्थानीय सरकारसँग केही गरौँ भन्ने भावना र नागरिकप्रति उत्तरदायित्वबोध भयो भने स्थानीयतहले नागरिकको हितमा धेरै काम गर्न सक्छ भन्ने उदाहरण उमाकुण्ड गाउँपालिकाको स्वास्थ्य क्षेत्र बनेको छ । यसबाट अन्य स्थानीय तहले पनि लोककल्याणकारी राज्य कस्तो हुनुपर्छ भन्ने पाठ सिक्न सक्छन् ।