कन्सल्टेन्सीको बदमासीले नेपाली विद्यार्थीको भर्ना र छात्रवृत्ति रोकियो

मंगलबार, १६ मंसिर २०८२

काठमाडौं – परिवर्तित नाम (कीर्तिपुर २५) को अमेरिकाको क्यलिफोर्नियास्थित सिम्सन विश्वविद्यालयमा भिसा लाग्यो । आमाले विदेशमा दुःख गरेर जम्मा गरेको पैसाले अमेरिका जस्तो सपनाको सहरमा जाने पाइने भएपछि उनको खुशीको सीमा थिएन । आमा–बुवाको डिभोर्सपछि उजाडिएको परिवारबाट अमेरिका जस्तो विश्वशक्ति राष्ट्र जान पाउनु उनका लागि सामान्य कुरा थिएन् ।

काठमाडौं पुतलीसडक (शंकरदेव क्याम्पसको अपोजिट, क्यापिटल हस्पिटलको पछाडि) मा रहेको कीर्तिपुर अब्रोड स्टडी सेन्टरले उनको भिसा सम्बन्धी सम्पूर्ण काम गरिदिएको थियो । कन्सल्टेन्सीलाई समेत धन्यवाद दिदै लड्डु खुवाएर खुशी–खुशी अमेरिका पुगेकी उनलाई विश्वविद्यालय पुगेपछि झट्का लाग्यो । १८ देखि २० लाख रकम तिरेर अमेरिका पुगेकी उनलाई विश्वविद्यालयले ट्युसन फि जम्मा भएको छैन भन्दै कक्षा कोठामा बस्न नदिएपछि छाँगाबाट खसेजस्तै भइन् ।

झण्डै बेहोस भएकी उनलाई विश्वविद्यालयका प्रोफेसर, सँगै गएका सहकर्मीले सम्झाएपछि सामान्य अवस्थामा फर्किन र विश्वविद्यालयको फाइनान्स डिपार्टमेन्टमा गएर आफ्नो बारेमा बुझिन् । बुझ्दैजाँदा कन्सल्टेन्सीले विश्वविद्यालयको खातामा २५ सय अमेरिकी डलर कटाएर मात्र डिपोजिट गरेको रहेछ । ‘कन्सल्टेन्सीले १ लाख ६० हजार सर्भिस चार्ज मागेको थियो । उनीहरुको यति ठूलो रकम दिन सक्ने हैसियत थिएन ।’, विद्यार्थी निकट श्रोतले भन्यो, ‘जनतन विश्वविद्यालयको ट्युसन फि तिरेका उनीहरु कसरी १ लाख ६० हजार तिरुन ।’

फाइनान्सको स्टाफसँग विद्यार्थीले आफ्नो कुरा राखेपछि तुरुन्तै इमेल गरेर विश्वविद्यालयले आफ्नो एजेन्टलाई पैसा डिपोजिट गर्न लगायो । इरानमा केन्द्रीय कार्यालय रहेको उक्त एजेन्टले कीर्तिपुर अब्रोड स्टडी सेन्टरलाई इमेल फर्वाड गर्दै तुरुन्तै पैसा डिपोजिट गर्न चेतावनी दियो र कीर्तिपुरसँगको सवएजेण्ट सम्झौता रद्ध गरिदियो । यो जुलाई २५ को कुरा हो । त्यसको ३ दिनपछि कन्सल्टेन्सीले विश्वविद्यालयको खातामा बाँकी रकम जम्मा गरिदियो । रकम जम्मा गरेको भोलिपल्ट किर्तीपुर २५ कक्षामा बस्न पाइन् ।

यता विश्वविद्यालयले उसको इरानको एजेन्टसँगको सम्झौता तोडिदियो छ भने नेपालबाट विद्यार्थी नलिने घोषणा गरेको छ । ‘५ जना विद्यार्थीको आई–२० आएको छ । उनीहरुले भिसाको डेट पनि लिइसकेका छन् ।’, विश्वविद्यालयसँग काम गरिएको एक व्यवसायीले भने, ‘विश्वविद्यालयले थप आई–२० दिएको छैन । नेपालबाट विद्यार्थी नलिने घोषणा गरेको छ । आई–२० आएका विद्यार्थीको के हुने हो । हामी व्यवसायी तनावमा छौं । भिसा इन्टरभ्युमा जाँदा आई–२० क्यान्सिल भएको रहेछ भने विद्यार्थीले हामीलाई बाँकी राख्लान त ? नरेन्द्र खनाल (कीर्तिपुर अब्रोडका मालिक)का कारण हामी समस्यामा छौं ।’

कीर्तिपुर अब्रोड स्टडी सेन्टरले विश्वविद्यालयमा पैसा कम पुगेको स्वीकारेको छ । ‘तपाईंले भनेजति पैसा नपुगेको चाँही होइन् । अमेरिकाका साथीभाईबाट सरसापट गर्दा प्राविधिक कारणले ५ सय अमेरिकी डलर अपुग भएको हो । हामीले यसलाई तुरुन्त सेटल गरिसकेका छौं ।’, कीर्तिपुर अब्रोड स्टडी सेन्टरका संचालक नरेन्द्र खनालले भने, ‘हामीले नियतवस् यसो गरेको होइन । प्राविधिक कारणले त्रुटी भएको हो ।’

कमिसन नदिने विश्वविद्यालयमा विद्यार्थी भर्ना गर्दा इक्यानको मापदण्ड अनुसार १ हजार अमेरिकी डलर सर्भिस चार्ज लिन पाइन्छ । तर यो कन्सल्टेन्सीले १ लाख ६० हजार सर्भिस चार्ज मागेको छ । श्रोतका अनुसार यो विश्वविद्यालयले १५ सय अमेरिकी डलर कमिसन दिने गरेको छ । यो कन्सल्टेन्सीले कमिसन पनि खाने र सर्भिस चार्ज पनि असुल्ने नियत देखिएको प्रस्ट छ ।

विद्यार्थीका काउन्सलर अच्युत लम्सालले विदेशबाट आएको पैसा अमेरिका पठाउँदा भनेको बेलामा डिपोजिट नहुँदा समस्या आएको बताए । ‘हामीले पनि अमेरिकामा भएका हाम्रो विद्यार्थी, साथीभाईसँग म्यानेज गर्नुपर्यो नी, उहाँहरुसँग पनि ठूलो रकम नहुनसक्छ । यस्तै प्राविधिक कारणले पैसा अपुग भएको हो ।’, यसरी गैरबैंकिङ च्यानलबाट पैसा पठाउनु गैरकानुनी कार्य हो नी हैन र भन्ने जिज्ञासामा उनले भने, ‘हुन त हो तर उहाँको अभिभावक नेपालमा हुनुहुन्न । हामी आफैले अभिभावकत्तो ग्रहरण गरेका थियौं । बैंकिङ च्यानलबाट पैसा पठाउन आफ्नो अभिभावक त चाहियो नी ?’

यसरी नेपालबाट गैरबैंकिङ च्यानलबाट पैंसा विदेश पठाउनु अपराध हो । विद्यार्थीबाट कन्सल्टेन्सीले सिधै पैंसा लिन पनि पाइदैन । कानुन अनुसार विद्यार्थीले आफैले एनओसी बनाएर बैंकिङ च्यानलमार्फत विश्वविद्यालयको खातामा रकम जम्मा गनुपर्छ । विद्यार्थी स्वयम् वा उसको अभिभावकले विश्वविद्यालयको खातामा रकम जम्मा गर्न सक्छन् । तर यो कन्सल्टेन्सीले ट्युसन फि लिएर विश्वविद्यालयको खातामा रकम जम्मा नगर्नु नेपाल राष्ट्र बैंक ऐन, विदेशी मुद्धा अपचलन, सम्पत्ति सुद्धिकरण सम्बन्धी कानुन विपरितको कार्य हो ।

नेपाल शैक्षिक परामर्श संघ (इक्यान) का एक पदाधिकारीले कन्सल्टेन्सीले कदमासी गरेको बताए । ‘कन्सल्टेन्सीले विदेशी एजेण्टसँग काम गर्नु, विद्यार्थीको पैसा क्यासमा लिनु र लिएको पैसा विश्वविद्यालयको खातामा जम्मा नगर्नु विश्वविद्यार्थीको भविश्यमाथि खेलवार्ड हो । यस्तो केशमा पुनः अमेरिका प्रवेश प्रतिबन्धसहित डिपोर्ट हुने खतरा हुन्छ ।’, नाम उल्लेख नगर्ने सर्तमा उनले भने, ‘कन्सल्टेन्सीले विद्यार्थीलाई एनओसी बनाउन लगाएर बैंकिङ च्यानलबाट ट्युसन फि जम्मा गर्नुपथ्र्यो । कन्सल्टेन्सीले नेपालमै रहेको एजेण्टमार्फत काम गनुपथ्र्यो । उहाँले ठूलो गल्ति गर्नुभयो ।’

नेपालीलाई ७०देखि सतप्रतिशतसम्म छात्रवृद्धी दिदै आएको सिम्पसन क्रिश्चियन विश्वविद्यालय हो । कीर्तिपुर २५ लाई २५ हजार अमेरिकी डलर छात्रवृत्ति दिएको थियो । यो विश्वविद्यालयलाई बाइबल इन्स्टिच्युटको रूपमा समेत चिनिन्छ । यो क्रिश्चियन मिसनरी गठबन्धनसँग आवद्ध विश्वविद्यालय हो ।

नोट : विद्यार्थीको परिचय गोप्य राख्न सिम्बोलिक नाम (कीर्तिपुर २५) राखिएको हो । कीर्तिपुर कन्सल्टेन्सीको नाम हो भने, २५ अगस्टमा घटना घटेकाले हामीले कीर्तिपुर २५ नाम दिएका हौं । –सम्पादक