अख्तियार प्रमुखसहित १० जनालाई मार्ने धम्की दिने मुख्य अभियुक्त फिलिपिन्समा, तीनजना पक्राउ
काठमाडौं— नेपाल प्रहरीको नै निद हराम पार्नेगरी उच्चपदस्थ अधिकारीहरुलाई ज्यान मार्ने धम्कि दिने मुख्य गिरोहको नाइके पत्ता लागेको छ ।
पूर्व परराष्ट्रमन्त्री आरजु राणा, पूर्व गृहमन्त्री रमेश लेखक, अख्तियार प्रमुख प्रेमकुमार राईसहित १० जनालाई ज्यान मार्ने धम्की दिने समूहका मुख्य अभियुक्त फिलिपिन्समा रहेको खुलेको छ।
यसरी धम्कीसहितको पत्र अख्तियारमै प्राप्त भएको र भिडिओ समेत सार्वजनिक भएपछि अख्तियारले अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौँमा जाहेरी दिएको छ।
धम्कीपूर्ण पत्र पठाउने प्रकाश पाठक फिलिपिन्समा रहेको र उनका तीन जना सहयोगीलाई समेत पक्राउ गरेर अनुसन्धान गर्दा तीनै जनाले प्रकाशको बडिगार्ड भएको प्रहरीले जनाएको छ ।
तर धम्क्याउने कसुरमा भने संलग्नता नरहेको दाबी उनले गरेका छन्। प्रकाशले अख्तियार प्रमुख राईसहितको ज्यान लिने चेतावनी दिँदै भिडिओ रेकर्ड गराउँदा उनीहरू पनि भिडिओमा देखिएका थिए। सोही आधारमा प्रहरीले पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको दाबी गरेको छ।
‘यसमा प्राविधिक रूपमा पनि अनुसन्धान अगाडि बढिसकेको छ। केही व्यक्तिले परिचालन गरेको हो कि भन्ने शंका छ। पक्राउ परेकाहरूले भने आरोप स्वीकार गरेका छैनन्।
आफूलाई उग्रवादी समूह ‘एक्स्ट्रिमिस्ट ग्रुप अफ नेपाल’को अध्यक्ष भन्ने पाठकले पठाएको पत्रमा अख्तियार प्रमुख राईसहित १० जनाको ज्यान लिने चेतावनी छ।
उक्त सूचीमा अख्तियारकै पूर्वप्रमुख लोकमानसिंह कार्की, नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपाल खड्का, कांग्रेस नेता एवम् पूर्वगृहमन्त्री रमेश लेखक, सुडान काण्डमा जोडिएका तीन जना पूर्वप्रहरी प्रमुख ओमविक्रम राना, हेमबहादुर गुरुङ र रमेश चन्द ठकुरीलाई पनि यस्तो धम्की आएको छ।
यस्तै कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी एवं पूर्व परराष्ट्रमन्त्री आरजु राणा, पूर्वगृहमन्त्री बालकृष्ण खाँण र मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई पनि चेतावनी दिइएको छ। पाठकले पठाएको पत्रमा कसलाई किन धम्की दिइएको भन्ने कुरा पनि खुलाइएको छ।
यता यी व्यक्तिहरूको सुरक्षा सतर्कता भने बढाइएको छ। प्रहरी प्रधान कार्यालयको निर्देशनपछि काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीले उपत्यकाका तीनवटै जिल्लामा उनीहरुको निवासदेखि हिँडडुल र औपचारिक कार्यक्रममा समेत सुरक्षा निगरानी बढाउन निर्देशन दिएको हो।
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीविरुद्धको मुद्दामा अनुसन्धान अन्तिम चरणमा पुगेसँगै अख्तियारमा यस्तो धम्कीपूर्ण पत्र आएको हो।
धम्क्याउने समूहले पनि यो मुद्दासँग जोडिएका कतिपय विषयवस्तु उल्लेख गरेको भन्दै प्रहरीले ती व्यक्तिहरूलाई अधिकारीले परिचालन गरेको हुन सक्ने आशंका गरेको छ। यस्तै अर्का विवादित व्यापारीप्रति पनि प्रहरीले शंका गरेको छ। तर अधिकारीको नाम मात्रै जोडिएको हो कि संलग्नता नै छ भन्ने अनुसन्धान भइरहेकाले केही दिनमै प्रस्ट हुने प्रहरीको दाबी छ।
अधिकारीसहित ७ जनाविरुद्ध बुधबार विशेष अदालतमा भ्रष्टाचार आरोपमा मुद्दा दायर भएको छ। भक्तपुरको नलिन्चोकमा हेलिपोर्ट निर्माणमा साढे १३ करोड बढी भ्रष्टाचार गरेको आरोप उनीहरूविरुद्ध छ।
अधिकारीसँगै प्राधिकरणकै पूर्वनिर्देशक मुरारी भण्डारी पनि पक्राउ परेका छन्। उनीहरूलाई बकपत्र र थुनछेक बहसका लागि आज (शुक्रबार) विशेष अदालतमा उपस्थित गराउने तयारी अख्तियारले गरेको छ।
यसअघि आर्थिक अनियमिततामा महानिर्देशक अधिकारी मुछिएको समाचार लेख्ने पत्रकारले पनि ज्यान मार्ने धम्की खेपेका थिए।
यस विषयमा पत्रकारहरूको अन्तर्राष्ट्रिय छाता संगठन इन्टरनेसनल फेडरेसन अफ जर्नलिस्ट (आईएफजे) ले समेत नेपाल सरकारको ध्यानाकर्षण गराउनु परेको थियो।